मिनबहादुर राना
हिजोसम्म बा आमाकी प्यारी छोरी थिइस्
मेरी प्यारी बुने थिइस्
बुने ! तँ अब बुने रहिनस्
विश्व भिजेको छ तेरो आँसुले
संसार थर्केको छ तेरो कर्मले
धर्ती रोएको छ तेरो आवाजमा
बुने ! तँ बुने रहिनस्
हाम्री आमा बुद्ध जन्माउने आमाभन्दा कम छैनन्
हाम्री आमा जिसस र राम जन्माउने आमाभन्दा कम छैनन्
हाम्री आमा पहरामा घाँस काट्दै रुँदिहुन् तँलाई सम्झेर
आमा त सबैका हुन्छन् बुने
तर हाम्री आमाजस्ती हुन सक्दैनन्
तँ हिजोसम्म बुने थिइस् अब बुने रहिनस्
मलाई थाहा छ
खुला सडकमा बितेका रात
कति लामो हुन्छ
झिलिमिलि सहरमा
भोकभोकै डुलेका दिनहरू
कति पत्यार लाग्दो हुन्छ
एक घुट्को पानी खान
हजार गाली खाँदै हिँडेका क्षणहरू
कति नरमाइलो हुन्छ
तैँले सामान्य केटीले सहेको पीडाभन्दा भिन्दै
यौटा कठोर परीक्षा पास गरिस्
बुने ! तँ बुने रहिनस्
म महसुस गर्छु बुने
बचपनका साथी भेट्दा लुक्नुपरेका दिन्
आफन्त भेट्दा मुख लुकाएर हिँडेका दिन
आफ्नै बाआमासित तर्सेर भागेका दिन
घर नामको कालकोठरी
लोग्ने नामको यौटा मूर्ति
ती सब छोडेर
घरबाट निस्केर सिद्धार्थ बनिस्
जीवनको महाभारत जितिस्
बुने ! तँ अब बुने रहिनस्
मृत्युको मुखबाट फर्केकी मेरी बहिनी
तैले मृत्युलाई जितेकी छेस्
तँ ती तमाम बेबारिसेहरूको छोरा भइस्
तँ ती अनामहरूको बा भइस्
सारा दुखी आत्माहरूको
आमा बनिस्
दाइ बनिस्
भाइ बनिस्
आज देशले चिनेको योद्धा भइस्
बुने ! तँ अब बुने रहिन्
यो पुस्ताकै होनहार भाइ बनिस्
यो तुच्छ दाजुको आँसु पुछ्ने भाइ बनिस्
बुने ! तैँले जीवन चिनिस्
जीवनको विश्वयुद्ध जितिस्
(सपना रोका मगरप्रति समर्पित)

