काठमाडौं । ट्रयाक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । ट्रयाक्टर चालकको मृत्युपछि स्थानीयले दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
प्रहरीको कुटपिटबाट चालकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन् ।
मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन पुगेको ट्रयाक्टर चालक २४ वर्षीय हरिश्याम यादवको मृत्युपछि राति १ बजेदेखि दुम्किवासमा तनाव सिर्जना भएको हो । प्रहरी टोली खोलामा पुग्दा नदीजन्य पदार्थ अवैधरूपमा निकाल्दै गरेका ट्र्याक्टर भाग्ने क्रममा दुर्घटना हुँदा यादवको मृत्यु भएको प्रहरीको भनाई छ । स्थानीयवासी भने प्रहरीको कुटाइका कारण चालकको ज्यान गएको भन्दै विरोधमा उत्रिएका छन् ।
विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु३त ८१७५ नंको ट्रयाक्टर दुर्घटना हुँदा दाङको राजापुर गाउँपालिका–४ निवासी २४ वर्षीय यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताउनुभयो । ट्रयाक्टर भाग्ने क्रममा दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको राति नै भरतपुरमा उपचारका क्रममा मृत्यु भएको बमको भनाई छ ।
जिल्ला प्रहरी कार्यलयको टोली खोलामा पुग्दा ट्र्याक्टर भाग्ने क्रममा दुर्घटनामा परेको उहाँले बताउनुभयो । प्रहरीले चारवटा ट्रयाक्टर नियन्त्रणमा लिएको थियो । तीनवटा भने खोलामै फसेका छन् । राति ११ बजेको समयमा खोलामा घटना घटेको हो । चालक नयाँ भएको र बाटोबारे ज्ञान नहुँदा भाग्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बमको भनाई छ ।
स्थानीयवासीले भने प्रहरीले खोलामा पिटेर घाइते बनाएका कारण उनको मृत्यु भएको भन्दै राति १ बजेदेखि राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय दुम्किवास अगाडि घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् ।
यस क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । राति झडपको अवस्था आएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन १३ सेल अश्रुग्याससमेत प्रहार गरेको छ । रासस

