हेम बिजी ।।
मङ्सिर महिनाको आधाआधी । हल्का कालो बादलले ढाकेर आकास धमिलो थियो । मलिन घामको प्रकाश बादल चिर्दै बल्लबल्ल धर्तीतिर ओर्लिएकोजस्तै लाग्थ्यो ।
“मालिक आऊ !”, “देश चलाऊ !” “हाम्रो मालिक हाम्रो देश – प्राणभन्दा प्यारो छ !” मध्यदिनको सडकमा चिच्चाएका यी आवाज नितुको कानसम्म आइपुग्यो ।
शनिबारको दिन थियो । भोलि पल्ट एउटा कथा लेखेर स्कुलमा गुरुलाई सुनाउनुपर्ने थियो नितुलाई । नेपाली विषयको त्यही नै होमवर्क थियो नितुको । भर्खरै कथा कोर्न बसेकी नितुको मौनता सडकमा चिच्चाएको आवाजले भत्काइदियो । झ्यालमा झुण्डिएको निलो पर्दा अलिकता खोलेर नितुले सडकतिर आँखा दौडाइन् ।
मान्छेहरू एकाध सयजति थिए होलान् । नौ वर्षकी नितुले त्यो सडकको चिच्चाहट बुझ्न नसकेर दङ्ग पर्दै भान्साकोठातिर दौडिँदै गई । नितुले पहिलो पटक सडकमा मान्छेहरूको लामबद्ध आवाज र होहल्ला सुनेकी थिई ।
“आमा हेर्नु न, सडकमा मान्छेहरू किन चिच्चाउँदै छन् ? के भनिरहेका छन् तिनीहरू ?”
खाना बनाउन व्यस्त थिइन्, नितुकी आमा निशानी । खोई ! किन हो, आज बिहानको खाना पनि अलि ढिलो पाक्दै थियो नितुको घरमा । तर छोरीको उत्सुकतासँगै आमा निशानी पनि भान्साकोठाबाट नितु पढ्ने कोठातिर आइन्; र, उही झ्यालको निलो पर्दा उघारेर सडकतिर आँखा घुमाइन् ।
नारा उस्तै थिए; मान्छे उनै थिए; जुन नितुले देखेकी थिइन् । समय र सडक अलिकता अघि बढेको थियो । नितुकी आमा निशानी राजनैतिक आस्था र विचारमा आबद्ध नारी भएकाले सडकका नारा, मान्छे र माग बुझ्न कुनै गाह्रो विषय थिएन । निशानी अग्रगामी दलकी कार्यकर्ता र परिवर्तनशील महिला सङ्घकी सदस्य पनि थिइन् ।
“छोरी, तिमी आफ्नो होमवर्क गर ! म खाना पकाउँछु । ढिला भइसक्यो खाना खाने समय । सडकतिर ध्यान नदेऊ !”
आमाको यो कुराले छोरी नितुको चित्ता बुझेन क्यारे ! बाल्यकालको मन चञ्चल र जिज्ञासु हुन्छ नै । देखेको कुरा बुझ्न र जान्न चाहने बाल स्वभावले होला, छोरी नितुले धेरै पटक सोधिरहिन्– “आमा ! ती मान्छेहरू किन सडकमा हिडिरहेका छन् ? किन चिच्याउँदै, उफ्रिँदै छन् ?”
आमा निशानीले आखिर छोरीको बाल जिज्ञासा मेटाउँदै भनिन्– “ती मान्छेहरू बुढो जुलुस गर्दै छन् छोरी !”
“बुढो जुलुस !” यो शब्द सुनेर छोरी नितुको झनै जिज्ञासा बढ्यो; र, फेरि आमासँग सोधिन्– “बुढो जुलुस भनेको के हो आमा ?”
“यसको लामो कहानी छ छोरी !” आमाले भनिन् ।
“म सुन्छु आमा । आज मेरो छुट्टीको दिन । जति लामो होस् कहानी” छोरीले निकै जिद्दी गरेपछि आमा निशानीले भान्सा कोठाबाट गोलभेडा, प्याज, आलु र अरू पनि तरकारी लिएर नितु बसेकै कोठामा फेरी आइन्; र, तरकारी काट्दै छोरीलाई बुढो जुलुसको कहानी बताउन सुरु गरिन् ।
आजभन्दा करिब दुई शताब्दी चार दशकदेखिको कुरो हो । हाम्रो यो सानो नेपाल देशको ठुलो सहरको विशाल महलमा बाह्रौँ–तेह्रौँ पुस्तादेखि एउटा एकल पुस्ता बस्दै आएको थियो । त्यो विशाल महलमा बस्ने एकल पुस्ताका मालिक देशकै शासक थिए । ती शासक गरिब देशका सर्वसम्पन्नशाली र सर्वशक्तिमान थिए । ती शासक त्यही विशाल महलमा बसेर देशको शासन चलाउथे । उनलाई अवतारी मालिक पनि भन्थ्ये; र, तिनै अवतारी मालिकलाई उनका आसेपासे, धुपौरे र दासदासीले भगवान विष्णु अवतार भनेर ढोग्ने पुज्ने पनि गर्थे ।
ती मालिक सेना, प्रहरीसाथ सर्व सक्तिमान बनेर देशको सत्तामा विराजमान थिए । ती अवतारी मालिक यतिसम्म निरङ्कुश थिए कि देशका नागरिकले उनको आज्ञा र आदेश बिना ठुलो साससम्म फेर्न पनि पाउँदैनथे । नागरिक अधिकार, स्वतन्त्र र समानता भन्ने कुरा त किताबमा पनि पढ्न पाइदैनथ्यो ।
ती अवतारी मालिक जे बोले, त्यो देशको कानुन बन्थ्यो । उनको आदेश र हुकुम संविधानजस्तै हुन्थ्यो । उनले जहाँ पाइला टेक्थे, त्यो उनको जमिन हुन्थ्यो । नागरिकले अधिकारका लागि बोल्न, दल खोल्न पूर्ण प्रतिबन्ध थियो । स्वतन्त्रता त थियो बोल्न, तर तिनै महल र अवतारी मालिकका आसेपासे र धुपौरेलाई मात्र । अरू जनता अधिकार र स्वतन्त्रताका लागि बोले जेल जानुपर्ने शासनसत्ता थियो । त्यति बेला जनता नभएर देशका नागरिक मालिकका प्रजा र रैती गनिन्थ्ये । देशमा जनताप्रति निर्मम अन्याय, अत्याचार र शोषणदेखि अरू केही थिएन ।
“आमा, ती निरङ्कुश शासक विरुद्ध कोही मान्छे बोलेनन् त ?” छोरी नितुले आफ्नो जिज्ञासा थपिन् ।
“सुन छोरी, म भन्दै छु” काटिसकेको आलुलाई एउटा थालीमा राखेर आमा निशानीले प्याज काट्दै फेरि भन्न थालिन् ।
आफ्नो ज्यानको पर्वाह नगरी ६ दशकदेखि जनताले निरङ्कुश शासन, मालिक र कुद्ध प्रतिमागी व्यवस्था विरुद्ध सङ्घर्ष गरिरहे । जेलनेल भोग्दै स्वतन्त्र र प्रजातन्त्रको आन्दोलनमा हजारौँ मान्छेले आफ्नो प्राणको आहुति दिए । यो ६ दशकको अवधिमा नेपाली जनता र निरङ्कुश मालिकबिच लामो लडाइँ चल्यो– कहिले खुल्ला, त कहिले भूमिगत ।
इतिहासमा धेरै पटक जनताले प्रजातन्त्र प्राप्त गरे । लोकतन्त्र हासिल गरे । निरङ्कुश शासकलाई आन्दोलनको आँधीले पछार्दै जादाँ स्वयम् ती अवतारी मालिक जनआन्दोलनसँग झुक्दै पनि गए । जनताले खुल्ला राजनैतिक अधिकार, निर्वाचन र जननिर्वाचित बनरे केही समय त सरकारमा पुगेर देशको शासन पनि चलाए ।
तर विडम्वना यस्तो भयो कि जति पटक नेपाली जनताले प्रजातन्त्र प्राप्त गरे, ती प्रतिगामी शासकले बुट र बन्दुक लगाएर दबाइदिए । जति पटक नेपाली जनतले लोकतन्त्र हासिल गरे, ती दमनकारी विष्णु अवतारले लोकतन्त्र नै कुल्चदै गए । जनआन्दोलनको आक्रोश बढ्दै जाँदा ती जनअधिकार लुटेको मालिकले आफू जनताले लेखेको कानुनमा बस्छु भने तर कहिल्यै बसेनन् । यसरी इतिहासमा धेरै पटक ती निरङ्कुश मालिकले प्रजातन्त्र आफूले चाहेको बेलामा निले । यसरी प्रजातन्त्र निल्नुको एउटा कारण यो पनि थियो कि पूर्ण प्रजातन्त्र नेपाली नागरिकले प्राप्त गरिसकेका थिएनन् ।
“आमा, अहिले पनि देशमा लोकतन्त्र छैन त ?” छोरी नितुको प्रश्नमा आमा निशानीले कहानीलाई यसरी थप्दै र छोरीलाई सुनाइदै गइन् ।
त्यति बेला तिमी जन्मेकी नै थिइनौँ छोरी । आजभन्दा ठिक डेढ दशकअघिको कुरो हो । ती प्रतिगामी निरङ्कुश शासकले जनताले रगत बगाएर लिएको प्रजातन्त्र र जननिर्वाचित सरकार एकैसाथ कुल्चेपछि नेपालीले जनता ती निरङ्कुश शासक विरुद्ध जीवन–मरणको लडाइँ सुरु गरे । इतिहासमा मात्र पढिने र भेटिने तर मालिकको प्रत्यक्ष शासन कही पनि नरहने गरी आन्दोलनको तुफान चलाए । निरङ्कुश शासन विरुद्ध नेपाली जनताले अन्तिम युद्धको घोषणा गरी लडे । त्यो जनआन्दोलनलाई माइलो जनआन्दोलन पनि भनिन्छ ।
आन्दोलन यति उत्सर्गमा पुग्यो, बिस दिन पुग्न एक दिन मात्र बाँकी थियो, आखिर ती सर्वशक्तिमान भन्ने मालिक जनतासँग हार खान पुगे । सेना, प्रहरी, बुट, बन्दुकको सहारा लिएर आन्दोलन भङ्ग गर्न खोजे, तर सकेनन् । कारण यो थियो, लाखौँकरोडाँै जनता स्वतन्त्रता र लोकतन्त्रका लागि सडकमा एकताबद्ध भएर लडे । जनताको यही बलिदानी लडाइँले करिब चौबिस दशकको निरङ्कुश सत्ताका मालिक इतिहासको पानामा मात्र सीमित हुनु पुगे । नेपाली जनताले लोकतन्त्रको लडाइँमा विजय हासिल गरे ।
“ती मालिक कहाँ छन् त आमा अहिले ?” छोरी नितुले निकै चासो लिँदै फेरि आमालाई सोधिन् ।
छोरी नितुको चासोलाई ध्यान दिँदै आमा निशानीले मालिकको कहानीलाई अझै बढाउदै भन्दै गइन् ।
ती मालिक कहिँ गएका छैनन्, दाह्रा र नङ्ग्र्रा झिकेका बाघ झँै यही देशमा छन् । यही सहरमा छन् । प्रजातान्त्रिक लोकतान्त्रिक सरकारले दिएको घर र भत्ता खाएर बसेका छन् । नेपाली शासनसत्तामा कुनै अधिकार र आदेश केही चल्दैन । विश्व इतिहासमा धेरै देशका निरङ्कुश शासकको हविगत यस्तै हुदै आएको छ ।
आमा निशानीले भन्दै थिइन्– जुन दिनदेखि हाम्रो देशमा ती अवतारी मालिक सत्ताको बागडोरबाट तल खसे, त्यस दिनदेखि ती मालिकका आसेपासे, धुपौरे र भरौटेलाई निद्रा लाग्न छोड्यो । ती निरङ्कुश मालिकलाई फेरि पुरानै महल र पुरानै शासनमा फर्काउन आज फेरि सडकमा चिच्चाउँदै रुवाबासी गर्दै छन् ।
ती आज सडकमा उफ्रिएका एक सय र आधा सयजति मान्छे तिनै विष्णु अवतारका भक्तजन हुन् । बुढो मालिक, बुढो महल, बुढो निरङ्कुशता र बुढो प्रतिगामी विचार बोकेका मान्छेले गरेको जुलुस भएकाले यसलाई “बुढो जुलुस” भनिएको हो । त्यही बुढो जुलुसको चित्कार हो– “मालिक आऊ – देश चलाऊ !” ती निरङ्कुश सत्ताका केही अवषेश अझै पनि बाँकी केही छन्; र, बेलाबेला आज जसरी कराउँछन् ।
“आमा ती बुढा मालिक फेरि बुढो महल र बुढो निरङ्कुश शासनमा फर्किन्छन् त ?” छोरी नितुको फेरि प्रश्न सोधिन् ।
“सम्भव छैन छोरी” आमा निशानीले भनिन्– प्रजातान्त्रिक–लोकतान्त्रिक शासक र सत्तामा अलिकता खलबल आयो भने यी प्रतिगामीले मुन्टो उठाउन प्रयत्न गर्छन् । तर मरिसकेको लास फेरि चिहानघाटबाट ब्युँतेर आउँदैन ।
“कहानी यत्ति हो छोरी । बुढो जुलुसको कहानी सकियो । तिमी होमवर्क गर । म भान्सातिर जान्छु” यति भनेर आमा निशानी ती काटेका आलु, गोलभेडा र प्याज लिएर भान्सा कोठातिर जादै थिइन् । त्यतिबेलासम्म बाहिर सडकमा जुलुस पनि थिएन; नारा र मान्छेहरू हराइसकेका थिए । आकासमा सफा घाम लागेको थियो । पहिलाको मलिन घाम सफा र ताजा बनेको थियो ।
“आमा मैले होमवर्क लेख्ने कथाको शीर्षक त लेखिसकेँ, अब कथा यही शीर्षकमा लेख्छु” भान्साकोठातिर पुग्नै लागेकी आमा निशानीलाई बिचैमा रोक्दै छोरी नितुले आफ्नो कथाको शीर्षक आमालाई देखाई ।
आमा दङ्ग परिन् र एक पटक छोरीलाई हेर्दै मुस्कुराइन् ।
“छोरी, यो शीर्षकमा कथा लेखेर बेलुका अफिसबाट बाबा आउँदा बाबालाई पनि यो कथा देखाउनुपर्छ नि !” छोरीलाई यति भन्दै निशानी भान्सा कोठाभित्र पसिन ।
छोरी नितु कथा कोर्न थालिन् । नितुले कापीको पानामा माथि ठुला अक्षरमा कथाको शीर्षक लेखेकी थिइन्– “बुढो जुलुस” ।