काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलमा आगलागी भएको छ । नागरिक उडड्यन प्राधिकरणका प्रमुख विष्णु अधिकारीको निवास (क्वाटर) मा बिहान ५ बजे अचानक आगलगी भएको भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार नागरिक उडड्यन प्राधिकरण प्रमुख अधिकारी सुतिरहेका बेला आगलागी भएको हो ।
विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीले आफ्नो कार्यालयको झ्यालबाट धुवाँको मुस्लो देखेर तुरुन्त सूचना दिएका कारण प्रमुख अधिकारी भागेर बाँच्न सफल भएका प्रहरीले जनाएको छ । भाग्ने क्रममा अधिकारी सामान्य घाइते भएका छन्।
यसैगरी आगो निभाउने क्रमममा विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी कार्यालय सहायक गणेश सुयाल पनि सामान्य घाइते भएका छन् ।
विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले आगो नियन्त्रणमा लिइसकेको छ । आगो नियन्त्रणमा नेपाली सेना, जनपथ तथा सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।
आगलागी हुनासाथ नजिकैको सुरक्षा पोस्टबाट खटिएका प्रहरीले तत्काल सरसामान निकालेको थियो भने सुरक्षाकर्मीले बेलैमा थाहा पाएका कारण ठूलो क्षति हुनबाट जोगिएको छ ।

