कासीराम शर्मा
आमा
कति धेरै व्यथा लाग्यो होला है ?
त्यो दिन जब मलाई
यो सुन्दर संसारमा नयाँ
पाहुना बनाएर स्वागत गर्दै थियौ
त्यो प्रत्सव पीडितलाई
बिर्सेर मनमा आशाको दियो
बालिरहेकी थियौ होला
जति पीडा र छट्पटी
भएको थियो नि
सायद त्यो भन्दा बढी
खुसी पनि भयौ होला
किनकि तिमी
यो सुन्दर संसारमा
एउटा नयाँ पाहुनाको
आगमन गराउँदै थियौ
एउटी नारीले आफ्ना
पीडाहरूलाई भन्दा पनि
आमा हुनुमा
गर्व गर्छिन् !
आमा !
मैले तिमीलाई सानोमा
निकै सताएको हुँला है ?
कहिले तिम्रो दूध चुस्दै गर्दा
स्तनको टुप्पो नै
टोकिदिए हुँला त कहिले
तिम्रो त्यो न्यानो काखमा
एकैचोटि सँगै दिसापिसाब
गरिदिए हुँला अनि
कहिले त तिम्रो भोक र निद्रा पनि
खोसिदिए हुँला
तर पनि तिमीले
त्यो टोकाइलाई सन्तानको
स्पर्शको रूपमा लियौ
मैले फोहोर बनाएको
त्यो काखलाई घिन
नमानिकनै खुसीले सफा गर्यौ
र त्यो खोसिएको तिम्रो
भोक र निद्रा
मेरो भोक र निद्रालाई
पुरा गरेर
सन्तुष्टि लियौ होला !!
आमा !
तिमी कति महान् छौ है ?
आफू भोकै बसेर पनि
मलाई कहिल्यै भोको राखेनौ
बरू तिमी काँडामा
टेकेर हिँड्यौ तर
मेरो पाउमा फूलले पनि
प्रहार गर्न पाएनन्
कयौं पटक घाम र पानीले
तिमीलाई निकै सतायो
तर मलाई भने
सधैं सुरक्षा दिइरह्यौ
मानौं कि तिमीलाई मेरो
सुरक्षाका लागि नै
यो धरतिमा पठाइएको हो
आमा !
पिठ्युँमा पानीको गाग्री राखेर
अनि काखमा मलाई बोक्दै
घन्टौंसम्म हिँडेर पनि
तिमी थाकेनौ है ?
आमा !
दुनियाँ जतिसुकै परिवर्तन
किन नहोस्
तिमी कहिल्यै परिवर्तन भएनौ
किनकि तिमी एउटा आमा हौ
आमा !
तिमी अनपढ छ्यौ
तर पनि मेरा लागि
पहिलो गुरु हौ
तिमीले मलाई संसार चिनायौ
तिमी मेरा लागि
यस्तो डाक्टर हौ
जसले सुरुमै मलाई
आफ्नो अमृत पिलाएर
जीवन दियौ
आमा !
तिमी मेरा लागि यस्तो मनोबैज्ञानिक हौ
जसले केही नभनिकनै
मनको भाषा बुझ्न सक्छौ
तिमी मेरो जिन्दगीको
यस्तो दार्शनिक हौ कि
जसले मलाई जिन्दगीका
हरेक बाटाहरूमा हिँडायौ !!
आमा !
तिम्रो जति तारिफ
गरे पनि कमै हुन्छ होला
त्यो जुनले पनि
तिम्रो सामू शिर झुकाउँछ होला
त्यसैले त
आजको दिन तिम्रो
अगाडी आउने हिम्मतै राख्दैन
ताराहरू भने आफू
चम्केर तिम्रो स्वागत
गरिरहेका छन्
किनकि ,
उनीहरुको आमा
जुन पनि
तिम्रो सामुन्ने आउन
लजाई रहेको छ
आमा