पुष्कर भट्ट, महेन्द्रनगर ।
धनगढीमा रहेको वर्दादेवी टुर एण्ड ट्राभल्समार्फत भारतका विभिन्न शहरमा जान टिकट काटेका १२० जना भन्दाबढी मजदुर अलपत्र परेका छन् । कामको खोजीमा भारतीय शहरहरुमा जानका लागि पैसा तिरेर टिकट काटेका उनीहरु रातभरी धनगढी बसपार्कमा अलपत्र परेका हुन्।
भारतको मुम्बै, नासिक, पुणे, रत्नागिरी, बेंगलोर लगायतका शहरमा लैजाने भनि हजारौं रुपैयाँ अशुल गरिएको तर बस नआउँदा जाडोमा रातभर बसपार्कमै अलपत्र परेको एक मजदुरले बताए । ती मजदुरलाई सिमावर्ती भारतीय बजार गौरिफन्टामा बस आउने आस्वासन दिएर टिकट काटिएको थियो ।
सोमबार साँझ ४ बजेका लागि टिकट काटेका यात्रुहरु राति अबेरसम्म पनि बस नआएपछि धनगढी फर्किएका थिए । यद्यपी उनीहरुले काटेको टिकटमा बस नम्बर भने छैन ।
हिजो (सोमबार) साँझ ४ बजे नासिक यात्राका लागि तीन हजार रुपैयाँको टिकट काटेका कमल विक बस नआएपछि अरु यात्रुसँगै रातभर धनगढी बसपार्कमा अलपत्र परे । उनको टिममा मात्रै १४ यात्रु छन् ।
उनीहरुले काटेको टिकटमा अफिस सम्पर्क नं भनी एक व्यक्तिको मोबाइल नं ९८५८४७७११४ दिइएको छ । सो नम्बरमा सम्पर्क गर्दा ती व्यक्तिले बस किन आएन भन्ने चित्तबुझ्दो जवाफ दिन नसकेपछि आफूहरु ठगिएको महसुस भएको एक मजदुर बताउँछन् ।
मिलनचोकस्थित भन्सार रोडमा रहेको वर्दादेवी टुर एण्ड ट्राभल्सले नेपालबाट भारतका विभिन्न शहरमा कामको खोजीमा जाने युवाहरुलाई पठाउने गरेको बुझिएको छ । धनगढीमा सम्पर्क कार्यालय राखेपनि भारतको गौरिफन्टाबाट यात्रुहरु लैजाने गरेको पीडितले बताएका छन् ।
नेपालमा सम्पर्क कार्यालय राखेर सिमापारीबाट भारतीय नम्बरका गाडीमा यात्रुहरु ओसार्ने गरिएको उनीहरुको भनाई छ ।
ठगीमा परेकाहरु अहिले कैलाली जिल्ला प्रहरी कार्यालयमा उजुरी लिएर जान लागेको ती मजदुरले बताए । कैलाली प्रहरीले त्यसबारे अहिलेसम्म कुनै जानकारी नआएको भन्दै निवेदन आएपछि थप अनुसन्धान अघि बढाउने जनाएको छ ।

