खुम रायामाझी, कुवेत ।
वैदेशिक रोजगारका सिलसिलामा कुवेतमा रहेकी एक नेपाली युवतीले आत्महत्या गरेकी छन् । चितवनको भरतपुर महानगर पालिका–१८ चनौली, रायगञ्ज निवासी ३३ वर्षीया सितादेवी नेपालीले कुवेतमा आत्महत्या गरेकी छन् ।
गत शनिवार स्थानीय समय अनुसार बेलुका करिब ६ बजे कुवेतको फर्वानियाँ स्थित कम्पनीको आवासमा रहेको शौचालय भित्र सिताको शव झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ।
कुवेतको एक कम्पनी लासपालमासमा बिगत ६ वर्षदेखि कार्यरत रहँदै आएकी नेपालीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्टबाट जानकारी भएको छ ।
घटनावारे राजदूतावास, कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले मृतक कार्यरत कम्पनी र मृतकको परिवारसँग समन्वय गरी कानुनी प्रकृयामा सहयोग गर्ने बताएका छन् ।
यद्यपी उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन । घटनाबारे कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । नेपाली घर विदामा गएर आएको एक वर्ष मात्र भएको थियो । मृतक नेपालीको घरमा श्रीमान र एक छोरा, एक छोरी रहेका छन् ।