गिरीप्रसाद बुढा ।।
यसपालि कार्तिक ७ गतेदेखि हाम्रो समाजमा दसैँतिहारको मौसम सुरु भयो । योभित्रको रूढीवाद र विकृतिका कारण मलाई दसैँतिहार खासै मन पर्दैन । त्यसैले प्रायः मलाई यो दसैँतिहार भन्ने चिज छिटो गए हुँदो हो भन्ने लाग्छ ।
मेरा निम्ति यी पर्वभित्रका कैयौँ निमय असाध्यै झन्झटिला र बोझिला लाग्ने गर्दछन् । दसैँतिहारका यस्ता नियम पालना गर्दा म आफूलाई ठुलो कष्ट र यातनाको अनुभूति हुने गर्दछ । किनकि, आफन्तीको खुसीको लागि म रक्सीको कपसँग बसेर गफमा नारिन सक्दिनँ । आमा र बाको खुसीका लागि खोपामा राखेको मूर्ति पूजा गर्न सक्दिनँ ।
छोराछोरीको खुसीका लागि नयाँ लुगा किन्ने पैसा हुँदैन । चेलीबेटीका खुसीका लागि उनीहरूलाई मनग्ये दक्षिणा दिने औकात हुँदैन । यस्तो औकात आर्जन गर्नलाई मैले आफ्नो सच्चाइको बाटो छोड्नुपर्ने हुन्छ । खराब नै भए पनि ठुलो पार्टी रोज्नुपर्ने हुन्छ । कालोबजारी, भ्रष्टाचारी, ठेकेदारी जता मनग्गे पैसा हुन्छ, उतै दौडिनुपर्ने हुन्छ । तर म यी सबै गर्न सक्दिनँ । किनकि, आजसम्मको मेरो इतिहास क्रान्तिको सपना देख्नुमा नै बितिरहेको छ ।
समाजका सबै मानिसमा बराबर सुखानुभूति गर्ने दिन कहिले आउँछ ? कसरी आउँछ ? यसैको चिन्तनमा घोत्लिँदा–घोत्लिँदै म हिड्ने बाटो नै फरक भइसकेको छ । यो फरक बाटोमा हिडेकै कारण म आफ्नो जहानबच्चाका कैयौँ इच्छा–आकाङ्क्षा मारिदिन विवश छु ।
जे होस्, मङ्सिर १ गतेका दिन दसैँतिहारको अवधि पूरा भयो । यो दसैँतिहार सकिएको दिन जिउ हल्का भयो ।
मङ्सिर ३ गते सुर्खेत पुग्नुपर्ने मेरो पूर्व निर्धारित कार्यक्रम थियो । दसैँतिहारमा जम्मा भएका पाहुनालाई पन्छाउने जिम्मा श्रीमतीलाई सुम्पेर ३ गतेको दिन बिहानै झिसमिसेमा नै म रुकुमबाट सुर्खेत जाने गाडी चढेँ । निर्माणाधिन मध्यपहाडी लोकमार्गमा हल्लिँदै पछारिँदै चौरजहारीको फाँटसम्म पुग्दा सानीभेरी नदी पनि म चढेको गाडीसँगै बगिरहेकी थिई । ऊ आफूमा अपार शक्ति र गति भएको घमण्डमा कोकोहोलो मच्चाइरहेकी हुन्थी । म गाडीको झ्यालमा बसेर उसैलाई हेरिरहेको थिएँ ।
“के कहिल्यै नहेरेजस्तो झ्यालमा बसेर पुलक्पुलुक् हेरिरहन्छस् मलाई । मजस्तो गतिशील हुन त रातदिन कडा सङ्घर्ष गर्नुपर्छ, बुझिस केटा !” सानीभेरीले मलाई हेपेर बोली ।
“ए केटा ! मसँग बिहे गर्छस् ?” हेप्ने मात्रै होइन, उसले त मलाई जिस्काउन पनि थाली ।
उसले यसरी जिस्काएको मलाई मन परेन । त्यसैले मलाई ऊसँग हिड्नुनपरे हुन्थ्यो भन्ने लागिरहेको थियो । संयोगवश मैले जे सोचेको थिएँ, त्यै भैदियो । चौरजहारीको फाँटबाट सानीभेरी र मेरो बाटो छुट्टियो । सानीभेरी जाजरकोटतिर लागी भने म सल्यानको स्विकोट भन्ने डाँडोतिर ।
चौरजहारीबाट सल्यानको स्विकोट हुँदै जाने बाटोको उकालोमा चढेर स्विकोट पुगेपछि मेरो पालो एक पटक सानीभेरीलाई जिस्काउन मन लाग्यो ।
मैले सानीभेरीतर्फ फर्केर औला ठड्याउँदै भनेँ– “देखिस् त फुच्ची ! तैँले आफूलाई जति नै शक्तिशाली थाने पनि तँलाई ओरालो बग्नुको कुनै विकल्प छैन । तँ मजस्तै कहिल्यै उकालो चढ्न सक्ने होइन क्यार ! तँ र ममा को गतिशील ? अब त बुझिस होला नि ! सक्छेस् तैले मसँग बाजी मार्न ?”
मैले यसो भन्दा ऊ लाजले भुतुक्कै भएकी थिई । अनि, सुने पनि नसुनेजस्तै गरी सरासर ऊ आफ्नो बाटो लागिरही ।
सानीभेरी बिचरीलाई जिस्काएर के गर्नु ? यहाँको कच्ची बाटोको यात्रामा मेरो आफ्नै हालत भइसकेको थियो । धुलैधुलोले जिउ पुरै रङ्गिएको थियो ।
“सरकारले यो बाटोमा अथाह बजेट खन्याइसकेको छ तर पनि यो बाटोले अझै काँचुली फेरेको छैन” गाडीमा बसेका धुलेयात्रुले यो बाटोको बारेमा आपसमा कुराकानी गरेको सुनेँ।
“कहिले फेरिन्छ हँ तेरो काँचुली ?” मैले सुटुक्क यो बाटोलाई सोधे ।
“खै ! थाहा छैन” थकित मुद्रामा घोसेमुन्टो लगाएर बाटोले मलाई जवाफ दियो ।
उतापट्टि सल्लीबजार जाँदा अचम्मै भयो । त्यो उखर्माउली फुच्ची सानी भेरी त ठुलीभेरी भइसकेकी रहिछे । ऊ मभन्दा पनि धेरै अगाडि नै त्यहाँ पुगिसकेकी रहिछे । धुलैधुलो भएको मेरो ज्यानलाई हेरेर उस्ले हाँस्दै भनी– “देखिस् त मेरो वेग ! ममा कति उर्जा रहेछ ! आखिरीमा मैले तँलाई जितेरै छाडेँ । ओई केटा ! फेरि पनि मसँग बाजी थाप्ने हो ।”
“भयो, हजुर भयो । तेरै जित भयो । तँसँग मैले नसक्ने भएँ । मैले हारेँ” मैले ऊसँग हार स्वीकार गरेँ । किनकि ऊसँग अथाह उर्जा छ भन्ने कुरा धु्रवसत्य थियो ।
जे होस्, मान्छेजातिको जस्तो रिस, इष्र्या, पूर्वाग्रही र छलकपट आदि चरित्र नदीमा नहुँदो रहेछ । सच्चाइ उसको एक मात्र चरित्र हुँदो रहेछ । त्यसैले त सुर्खेतनजिकैको भेरीपुलसम्म मेरो आत्मीय सँगी बनेर उसले मलाई हार्दिकतापूर्वक विदाइ गरी । अनि, ऊचाहिँ आफ्नै गतिमा अगाडि बढी । मचाहिँ साँझको झिसमिसेमा कर्णाली प्रदेशको राजधानी सुर्खेत सहरमा प्रवेश गरेँ ।
सहरको झिलिमिलीले मन पुलकित भयो । तर आजको रात कहाँ खाने र कहाँ बस्ने ? यसको कुनै ठेगान थिएन । एक जना साहित्यकार साथीले केही दिनअगाडि फोन हुँदा “सुर्खेत झरेको बेला मेरो घरमा आउनुहोला । जे छ रुखोसुखो, खाएर बसौँला” भनेका थिए । तर मैले त्यसो गरिनँ ।
सुर्खेतको बसपार्कमा बसबाट ओर्लेपछि पार्टीका एक जना साथीलाई फोन गरेँ । उनले मलाई होटेलमा खान खाएर पार्टी कार्यालयमा सुत्ने सल्लाह दिए । उनको सल्लाहबमोजिम मैले त्यसै गरेँ ।
भोलि पल्ट बिहानै उनले मलाई आफ्नो घरमा लगे । उनको घरमा अभाव थियो; गरिबी थियो । यही अभाव र गरिबी मेट्ने सपनामा उनी जीवनभरि कम्युनिस्टको राजनीतिमा योगदान दिएको वृत्तान्त उनको मुखबाट घरिघरि फुस्किरहन्थ्यो ।
उनले भन्थे– “भूमिगत कालमा मैले सदस्य बनाएका मान्छेहरू अर्काे पार्टीमा लागेर मन्त्री बनिसके । आस्था त्याग्ने हो भने निजी जीवन बनाउनलाई खासै समस्या छैन ।”
उनले विभिन्न कालखण्डमा भोगेका सङ्घर्षका कुरा, त्याग र समर्पणका कुरा, भुमिगत कालमा दुस्मनलाई छकाएर उनी अगाडि बढेका रोचक घटना—यी सबै विषयलाई लिपिबद्ध गर्न सक्ने हो भने एउटा सुन्दर र विशाल महाकाव्य नै बन्नलायक थियो ।
खाना तयार भएपछि भान्साकोठाबाट मलाई खानाको निम्तो आयो । म खानाको लागि भान्साकोठामा प्रवेश गरेँ । भान्साकोठामा प्रवेश गर्नेबित्तिकै गरिबीमा सङ्घर्ष गरिरहेका साथी र उनका जहानबच्चाको निरस अनुहारले मेरो साहित्यिक हृदयलाई चसक्क घोच्यो । मनमनै सोचेँ, “सारा संसारको सुखका निम्ति कम्युनिस्ट आस्थामा हाडमासु गलाइरहेका हामीजस्ता मान्छेका जहानबच्चाको ओठमा सुख र हाँसोको किरण कहिले झुल्किने होला ?”
“थोरै खाना थपौँ ?” साथीकी श्रीमतीले मलाई थप खानाको लागि सोधिन् ।
“पुग्यो, सबै पुग्यो” मैले आफू अघाएको सङ्केत गरेँ ।
भोजनको कर्म पूरा गरेर साथी र म पार्टी कार्यालयमा फर्कियौँ ।
आज मङ्सिर ४ गतेका दिन, हाम्रो पार्टीको कर्णाली प्रदेश समितिको बैठक थियो । त्यसैले आज दिनभरि नै पार्टीको बैठक चलिरह्यो ।
कर्णाली प्रदेशका सबै जिल्लामा हाम्रो पार्टीको विकास र विस्तार कसरी गर्ने ? वर्तमान सरकारका जनविरोधी तथा राष्ट्रविरोधी क्रियाकलाप तथा समाजमा भएका शोषण उत्पीडन, विकृति विसङ्गति विरुद्धमा चल्ने सङ्घर्षलाई कसरी सङ्गठित गर्नेलगायतका विषयमा महत्त्वपूर्ण निर्णय पारित गर्दै हाम्रो बैठक सकियो ।
घरबाट निस्केको आज तेस्रो दिन । अझै पनि मेरो बसाइ सुर्खेतमा नै थियो । पार्टीको सामान्य काम गरेर बित्यो । खाना हिजो खाएकै घरमा भयो भने सुताइ पार्टी कार्यालयमा नै भयो ।
भोलि मङ्सिर ६ गते प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशको बैठक बस्ने कार्यक्रम थियो । त्यसैले बैठकको तयारी, साथीहरूसँग सम्पर्कजस्ता थप कार्य पनि पार्टीकाम सँगसँगै गरिरहेँ ।
मङ्सिर ६ गतेको दिन पूर्वनिर्धारित कार्यक्रमअनुसार बैठक सम्पन्न गर्ने काम पनि सम्पन्न भयो ।
आजैका दिन ठिक १ बजेदेखि प्रगतिशील लेखक सङ्घको अर्काे कार्यक्रम “तेस्रो प्रगतिशील कर्णाली साहित्यिक यात्रा” आयोजना गर्ने हाम्रो निर्णय थियो । सोहीबमोजिम सुर्खेत स्थित चित्रबहादुर केसी अध्ययन प्रतिष्ठानको सभाहलमा लेखक तथा साहित्यकार साथीहरूको आगमन भइसकेको थियो ।
आजको यस कार्यक्रममा प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशको दोस्रो प्रकाशन “रातो जुन” र साहित्यकार रगवीर विश्वकर्माको गजल सङ्ग्रहहरू “कोरोना भाइरस” र “एमसिसी अनुदान” सँगसँगै विमोजन ग¥यौँ । थुप्रै साथीहरूबाट रचना वाचन तथा शुभकामना मन्तव्य पनि व्यक्त गर्ने कार्य सम्पन्न भयो । कार्यक्रमको अन्त्यमा मैले सभाध्यक्षको नाताले कार्यक्रम समापनको मन्तव्य व्यक्त गरिरहेको थिएँ; कार्यक्रममा भूमिका निर्वाह गर्ने सबै महानुभावको नाम पुकार्दै धन्यवाद दिइरहेको थिएँ ।
तर अपसोच ! नाम पुकार्दै गर्दा एक जना चीरपरिचित साथीको नाम मैले पुकार्नै सकिनँ । त्यो नाम जिब्रोमा झुण्डिएको नाम थियो । तर त्यो नाम कुनै हालतमा मेरो मस्तिष्कमा प्रतिबिम्बित हुन सकेन । यसरी ममा भएको यस्तो भुलक्कड समस्याले बेलाबेलामा म आफै अप्ठ्यारोमा परिरहन्छु । यति बेला पनि म उनको नाम बिर्सेर साह्रै अप्ठ्यारोमा परेँ । तैपनि सम्बोधनमा उनलाई साथी भनेर सम्झिएँ ।
यसरी मन्तव्यको क्रममा मैले उनको नाम नलिनुमा मेरो कुनै कुनियत थिएन । नाम बिर्सेने एउटा सामान्य मानवीय कमजोरी थियो । तर मैले ती साथीको नाम पुकार्न नसकेकोमा उनले निकै दुःख महसुस गरेका रहेछन् । केही समयपछि उनले फोन गरेर “तपाईंको घर कहाँ रे भनेर ब्यङ्ग्य गरे ।” उनको यो व्यङ्ग्यभावलाई मैले स्वाभाविक रूपमा लिए । मैले उनलाई ममा नाम बिर्सने, अनुहार बिर्सनेजस्ता भुलक्कड कमजोरी रहेकाले यसलाई मेरो कमजोरीको रूपमा बुझिदिनुहोला भनेर उनीसँग क्षमा मागेँ ।
जे होस्, आजको दिन प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशको एउटा महत्त्वपूर्ण कार्यक्रम “तेस्रो प्रगतिशील कर्णाली साहित्यिक यात्रा” पनि सम्पन्न भयो । मलाई अझै भोलिसम्म सुर्खेतमा बस्नुपर्ने थियो । त्यसैले कार्यक्रम समापन भइसकेपछि साँझको ६ बजेतिर आजको रात कहाँ बिताउने भन्ने सोच गर्दै थिएँ । ठिक यसै बेला पार्टीका अर्का एक जना साथीले आज मलाई आफ्नो घर लैजाने इच्छा प्रकट गरे । मलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो । मैले ती साथीको इच्छालाई सहर्ष स्वीकारेँ ।

उनले मलाई आफ्नो बाइकमा चढाए; अनि, सरर आफ्नो घरअगाडि पुर्याए । त्यो घर कुनै धनाढ्य पुँजीपतिको भन्दा कम थिएन । त्यो घर नभएर ठुलै महल थियो । अनुहार आकासतर्फ फर्काएर मात्र मैले त्यो महलको उचाइ अवलोकन गर्न सकेँ ।
अगाडिको बलियो गेट खुलेपछि साथीले मलाई उनको महलभित्र प्रवेब गराए । भित्र सुविधासम्पन्न व्यवस्थित कोठाहरू रहेछन् । साथीले मलाई ठुलो र फराकिलो कोठामा सुत्ने व्यवस्था मिलाए । यो बैठककक्षाको रूपमा तथा सभाकक्षाको प्रयोजनार्थ बनाइएको कोठाजस्तै थियो । साँझ अबेरसम्म साथीसँग दुःखसुखको गफ गरेर बितायौँ ।
“यो घर बनाउँदा कति खर्च लाग्यो कामरेड ?” गफको प्रसङ्गमा साथीलाई घरको लागतबारे जिज्ञासा राखेँ ।
“करोड नाघ्यो” उनले अनुमानित लागत बताए ।
उनको सबै कुरा बुझ्दा यो महल उनको इमानको पसिनाले उभिएको रहेछ । अलि परको अग्लो महलजस्तो कालो धनको आडमा, अनि कसैको रगत र पसिनामाथि खेलवाड गरेर आर्जित महल होइन रहेछ । साथीको यो घर महल भएर उभिनुमा यसका आफ्नै असङ्ख्य कथा र व्यथा रहेछन् ।
साँझ अबेरसम्म उनीसँग धेरै विषयमा कुराकानी भयो । हामी दुईका बिच चलेको अधिकांश कुराकानी पार्टी, सङ्गठन र क्रान्तिमा केन्द्रित थिए । कुराकानीको बेला देखिएको उनको प्रस्तुतिले उनीमा क्रान्तिप्रति असिम आस्था र विश्वास रहेको कुरा सहजै अनुमान गर्न सकिन्थ्यो ।
निकै लामो कुराकानीपछि उनी आफ्नो सुत्ने कोठातिर गए । म पनि उनले व्यवस्था गरिदिएको पलङमा एक रातका लागि न्यानो आतिथ्यता ग्रहण गर्दै मस्तीले निदाएँ ।
भोलि पल्ट बिहानको खानापछि उनले पुनः मलाई पार्टी कार्यालयसम्म पु¥याउनलाई आफ्नो बाइकमा बसाले । पार्टी कार्यालयतर्फ आउँदै गर्दा मेरो मस्तिष्कमा उनीप्रति एक अनुत्तरित प्रश्न उब्जियो, “साँच्चै क्रान्तिका लागि त्याग गर्ने परिस्थिति सिर्जना भएमा यिनले यति ठुलो महललाई सहजै त्याग्न सक्लान कि नसक्लान् ?”
दिउँसो २२ दलको आयोजनामा एमसिसीको खारेजी, असमान सन्धिसम्झौताको खारेजी, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत देशको अतिक्रमित भूमि फिर्ता, कालापानीबाट भारतीय सेना फिर्ता, भ्रष्टाचार, महङ्गीको विरोध आदि विषयमा सुर्खेतस्थित मङ्गलगढी चोकमा भएको विरोधसभामा भाग लिंए । साँझपख पुनः पार्टी कार्यलयमा नै मेरो बास भयो ।

आज पाँचौँ दिनका दिन मेरो सुर्खेत बसाइको अवधि पूरा भयो । त्यसैले बिहानै ५ः३० बजे म सुर्खेतको बसपार्कमा उभिन पुगेँ । किनकि मलाई रुकुम जाने गाडी ५ः३० बजे छुट्छ भन्ने जानकारी दिइएको थियो । तर जानकारीअनुसार गाडी छुटेन । पूरै एक घण्टापछि बल्ल ६ः३० मा गाडी छुट्यो ।
म जुन बाटो गएको थिएँ, त्यै बाटो फर्किरहेको थिएँ । बाटोमा सानीभेरीलाई भेटेको थिए । त्यो फुच्चीलाई एक क्षण जिस्काउन मन थियो । तर आज ऊ आफ्नै काममा ब्यस्त रहिछे । त्यसैले मैले पनि उसलाई बोलाएर डिस्टर्ब गर्न चाहिनँ ।
“आज बल्ल फर्किनुभयो अङ्कल ?” सल्लीबजार स्विकोट सडकखण्डले मलाई बोलायो ।
“अँ बाबु, आज बल्ल फर्कंदै छु । के छ नि तेरोे हालखबर ?” मैले उसलाई सोधेँ ।
“एकदम ठिक छ अङ्कल । एउटा खुसीको कुरा सुन्नुहुन्छ ?” बाटोले प्रफुल्लित मुद्रामा बोल्यो ।
“भन न भन, के हो त्यस्तो खुसीको कुरा ?” मलाई त्यो बाटोको कुरा सुन्ने चाह जाग्यो ।
“अङ्कल, अब छिट्टै मेरो काँचुली फेरिने भयो नि !” ऊ बेहोशीमै उफ्रियो ।
“के भन्दैछस् हँ ? मैले त तेरो कुरा बुझिन नि !” मैले उसलाई सोधेँ ।
“ह्या काकालाई पनि सब्बै कुरा मैले नै भनिदिनुपर्ने । घर गएर फेसबुक हेर्नुहोला; अनि, आफै थाहा पाइहाल्नुहुन्छ नि !” बाटोले मलाई रहस्यमै राख्यो ।
साँझपख घरमा जानेबित्तिकै फेसबुक खोलेर हेरेँ । त्यो बाटो किन खुसी भएको रहेछ भन्ने कुरा फेसबुक हेरेपछि मात्रै बल्ल थाहा पाएँ । यो बाटो यति धेरै खुसी हुनुको कारण यो क्षेत्रका नेताले अब छिटै चौरजहारी स्विकोट हुँदै सल्लीबजार जाने सडकखण्डलाई फराकिलो बनाउने सपना देखिरहेका रहेछन् । धुले सडकलाई अब पक्की पिच रोडको रूपमा फेर्ने आँट गरिरहेका रहेछन् । नेताहरूले यति राम्रो सपना देखेपछि त्यो धुले सडक खुसी त हुने नै भयो नि !