गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ हुल भन्ने स्थानमा आज (शुक्रबार) बिहान भएको जिप दुर्घटना स्टार्ट हुनेबित्तिकै भएको स्थानीयबासीले बताएका छन् ।
शुक्रबार लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।
सो दुर्घटनाबारे स्थानीयबासी एवं हाम्रा चंडिगढ सम्वाददाता खिमराज चालिसेले दुर्घटना भएपछि घटनास्थल पुग्नु भएका स्थानीयबासी मानप्रसाद अधिकारीसँग टेलिफोनमा कुराकानी गर्नुभएको थियो ।
स्थानीय अधिकारीका अनुसार बिहान करिव ८ बजे सदरमुकाम तम्घास जानका लागि गुड्न लागेको गाडी स्टार्ट गरेकै समयमा अगाडि बढ्नुको सट्टा पछाडी खस्किएको हो । ड्राइभरले गाडी स्टार्ट गर्नासाथ पछाडि गुड्दै घुम्तीको तल्लो बाटोमा खसेको अधिकारीले बताउनुभयो । उहाँका अनुसार गाडी करिब पाँच सय मिटर तल खसेको छ । गाडी खस्ने क्रममा चालक र सहचालक ढोका खोलेर बाहिरिएका थिए ।
दुर्घटनामा परि अहिलेसम्म इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी, मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको घटना स्थलमै र इस्मा गाउँपालिका ४ हुलका १९ वर्षका फर्सुराम थापाको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ ।
त्यसैगरि २८ वर्षीया सरस्वती दर्लामीलाई सामान्य चोट लागेको छ भने सहचालक २५ वर्षीय कमल धितानको हात भाँचिएको छ । चालक बुद्ध बस्नेत भने सकुसल रहेका छन् ।


