काठमाडौं । त्रिशुलीमा जिप दुर्घटना हुँदा बेपत्ता भएका अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाका श्रीमती जमुना, छोरी जेनिसा र चालक सूर्य केसीको छिटो खोजी गर्न राष्ट्रिय जनमोर्चाले आग्रह गरेको छ ।
बिहीबार विज्ञप्ति प्रकाशित गरी राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले बेपत्ताको तत्काल खोजी गर्न र घाइते हुनुभएका रोकाको प्रभावकारी उपचार गर्न माग गर्नुभएको छ ।
छोरीको उपचारका लागि प्युठानबाट काठमाडौं आउँदै गर्दा रोका परिवार चढेको लु.१ च. ९७३१ नम्बरको जिप त्रिशुली नदीमा खस्दा गाडी चालक रोकाकी श्रीमती जमुना रोका र छोरी जेनिसा बेपत्ता हुनुभएको छ । नदीमा पौडेर बाहिर निस्कन सफल हुनुभएका रोकाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रोका खतरामुक्त हुनुहुन्छ ।
अस्पताल पुग्नुभएका अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य गोपाल गिरीका अनुसार रोकाको टाउको, घाँटी र छाती दुखेको छ । गिरीका अनुसार उहाँको सिटिस्क्यान र एक्सरे गरिएको छ । त्यसको रिपोर्ट आएपछि मात्रै भित्रि चोटबारे थप भन्न सकिने चिकित्सकहरुले बताएका छन् ।
पैडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
प्यूठानबाट काठमाडौं आउँदै गर्दा अखिल नेपालयुवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोका र उहाँको परिवार चढेको गाडी मुग्लिङ नजिकै त्रिशुलीमा मंसिर ११ गते विहान ५ बजेतिर दुर्घटना भएको खबर प्राप्त भएको छ । उहाँहरु छोरीको उपचारको लागि काठमाडौं आउँदै हुनुहुन्थ्यो ।
लु.१ च. ९७३१ नम्बरको जिप त्रिशुली नदीमा खस्दा गाडी चालक सूर्य केसी, मुकुन्द रोकाकी श्रीमती जमुना रोका र छोरी बेपत्ता हुनुभएको छ । मुकुन्द रोका नदीमा पौडेर बाहिर निस्कनु भई उपचारकोे लागि चितवनको पुरानो मेडिकल कलेज लगिएको छ ।
दुर्घटनाबाट बेपत्ता व्यक्तिहरुको छिटो खोजविन गर्न, दुर्घटनाबारे यथार्थ पत्ता लगाउन र घाइतको तत्काल उपचार गर्न अनुरोध गर्दछौं । घाइते मुकुन्द रोकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

