धनवीर पुन, नयाँ दिल्ली ।
जातीय समता समाजका सल्लाहकार राजेश विकले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको अवस्थामासमेत दलितहरु माथि अन्याय, अत्याचार, छुवाछुत कायम हुनु निन्दनीय भएको बताउनुभएको छ ।
आइतबार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत रहेको समता विभागको आयोजनामा भएको अनलाइन अन्तर्क्रिया कार्यक्रममा नेता विकले देशका विभिन्न स्थानमा दलितहरु माथि भइरहेका ज्यादती, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधले मानव समाजलाई नै कलंकित बनाएको बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार विकले ‘दलितहरुमाथि बढ्दो ज्यादतीका घटनाहरु तथा दलित आन्दोलनको प्रश्न’ विषयक अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यसक्रममा उहाँले दलितहरुमाथि भएका अपराधजन्य गतिविधिको फेहरिस्त प्रस्तुत गर्दै मानव समाजलाई नै कलंकित पार्ने छुवाछुत र भेदभावको अन्त्य गर्न ब्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशमा राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन नभएकोले दलितहरु अझैपनि पिल्सिनुपर्ने अवस्था रहेको बताउनुभयो । समाजमा पछि परेका समुदायलाई जनचेतनासँगै आर्थिक गतिविधिमा पनि अगाडि बढाउन सके मात्रै भेदभाव हटेर जाने उहाँको भनाई थियो ।
अवधारणा पत्रमाथि अखिल नेपाल युवक संघका महामसचिव कृष्णराज पाण्डे, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, सल्लाहकार धनवीर पुन, जनजार्ती नेता केवी थापाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा अखिल नेपाल किसान संघ (अफ्फा) का अध्यक्ष भैरवराज रेग्मी, मूल प्रवाहका केन्द्रीय केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, उपाध्यक्ष देव बहादुर लामिछाने, कोषाध्यक्ष रुक बहादुर केसीले आतित्थ्यता ग्रहण गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता विभागका सदस्य विनु नेपालीले र सञ्चालन महेन्द्र बस्यालले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई विभागका सदस्य शेर बहादुर विकले स्वागत गर्नुभएको थियो । कार्यक्रमको बीचमा बेंगलोरका रामसिंह विकले गीत प्रस्तुत गर्नुभएको थियो ।