धनवीर पुन, नयाँ दिल्ली ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले कलाकारहरुले जहिल्यै पनि कला र अनुशासनलाई सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभएको छ । उहाँले कलाकारको कला उत्पीडित जनताको पक्षमा उपभोग हुनुपर्ने बताउनुभयो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत केन्द्रीय सांस्कृतिक विभागको आयोजनामा शनिबार भएको सैद्धान्तिक प्रशिक्षण कार्यक्रममा प्रवक्ता पुरीले कलाकारहरु आफ्नो कलासँगै सिद्धान्त र राजनीतिबाटसमेत सम्पन्न हुनुपर्ने बताउनुभयो ।
‘वर्गीय समाजमा कला पनि वर्गीय नै हुन्छ । त्यसकारण कलाकारले आफ्नो प्रतिभालाई सर्वहारा, मजदुर, किसान जस्ता उत्पीडित वर्गको हितका लागि उपयोग गर्नुपर्छ’ प्रवक्ता पुरीले भन्नुभयो, ‘कलाकारहरु आफ्नो कलासँगै सैद्धान्तिक, वैचारिक रुपमा पनि प्रष्ट हुन जरुरी छ, जसले समाजलाई कलाको माध्यमबाट कम्युनिष्ट आन्दोलनको पक्षमा लैजान सकोस् ।’
उहाँले कम्युनिष्ट पार्टी निकट रहेका कलाकारहरुको संगठन पार्टीकै जनवर्गीय संगठन हुने भएकोले कलालाई लेनिनवादी संगठनात्मक सिद्धान्त र अनुशासनसँग जोडनुपर्ने बताउनुभयो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले कला संस्कृति के हो र यसले समाजलाई कसरी सकारात्मक मार्गमा अघि बढाउन सक्छ भन्ने विषयमा स्पष्ट पार्नुभएको थियो । उहाँले रक्तिम परिवारका कलाकारहरुमा उच्च अनुशासन हुनुपर्ने उल्लेख गर्दै अभियानका गतिविधिबारे जानकारी गराउनु भएको थियो ।
यस्तै, जातीय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विकले छाडा संस्कृतिले समाजलाई कसरी अधोगतितिर धकेलिरहेको छ भन्ने बारे दृष्टान्त पेश गर्नुभएको थियो । उहाँले प्रगतिशील कला संस्कृतिले मात्रै समाज विकासको गतिलाई सकारात्मक दिनशामा अघि बढाउनसक्ने बताउनुभयो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, महासचिव ठाकुर खनाल, उपाध्यक्ष कपिल खनालपनि विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
मोहराज चालिसेको सञ्चालन र छविलाल सापकोटाको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रमको अन्तमा प्रशिक्षार्थीहरुबाट प्रश्नउत्तर तथा जिज्ञाशाहरु राखिएको थियो ।