जनकराज पौडेल
उसलाई सन्दर सपना देखायौ
नमान्दा–नमान्दै
भो ! जान्न भन्दा–भन्दै
जबरजस्ती स्कुलबाटै हिडायौ
बिच बाटोबाट फर्किन खोज्दा
जीवनलीला समाप्त पार्ने
धम्की सुनायौ ।
त्यतिमा सीमित रहेनौ
शाखासन्तानमाथि
त्रास देखायौ
अनि, उm हिड्यो
तिम्रो पछि पछि
तिम्रो आदेश मान्यो
लड्यो–भिड्यौ
तिम्रो पहरा बनी ।
ऊ आज कहाँ छ ?
कस्तो छ र के गर्दै छ
तिम्रो सरोकार भएन
उसलाई तिमी चिन्दैनौ
तिमीलाई उसको खाँचो छैन
किनकि, तिमिले हिजो
भिडाएकाहरूको घेरामा छौ
ऊ हिजो तिम्रो संरक्षण गर्दा
अङ्गभङ्ग भर्इ क्षत्विक्षत् छ ।
ऊ आज पनि
जस्तो थियो तिमीले हिडाउँदा
त्यही बस्ती, झुप्रोमा छ
घाइते शरीर छट्पटाउँदै
तिम्रो नौरङगी जात्रा
हेरिरहेको छ सुनिरहेको छ ।
तिमी ह्वात्तै बदलियौ
ऊ हिजो छोड्दाको
बस्तीभन्दा विकराल अवस्थामा छ ।
समय धेरै अघि बढ्यो
उमेर ढल्कियो
तागत सक्कियो
अपाङ्ग शरीर
वामे सर्न छोड्यो
बल्ल पश्चातापमा छ ।
तिम्रो बहुरङमुख
उसले बुझेन
तिमस्भित्रको निर्दयिता
उसले छामेन
तिम्रो त्रासमा
झुटा आश्वासन
पत्याउँदै गयो
समयक्रममा
अन्धभक्त बन्यो
मात्र आदेश पालन गर्यो
आँखाअघि ढलेका
कलिला लास पातपतिङ्गरले
छोप्न लाग्यो
सहपाठी गल्र्यामगुर्लुम ढल्दा
मुटुमा भक्कानो पारी
खाल्टोमा पुर्यो
उ मात्र तिम्रो आदेशको
भिकारी भयो ।
आखिर केका लागि ?
उm बल्ल घोरिँदै छ
न उसको दैनिकी बदलियो
न उसले जबरजस्ती पुरेका
लासको सपना पूरा भयो
तर तिमीभित्रको कपट
आँखाले देख्दा अचम्मित छ ।
उसको बैसाखीमा
तिम्रो आलिसान
तिम्रो तडकभडक
दुस्मनसँग गलगाँठ
तिम्रो सम्राट बन्ने महत्त्वकाङ्क्षा
घायल शरीर बोकी
त्यही पिँढीको डिलबाट
नियालिरहेको छ
सबै सिद्धाएर
पुन्फुरोमा हात राखेको छ
तिमीप्रति आक्रोश छ
आत्मादेखि घृणा छ
तिमीलाई धिक्कारेको छ
शरीरका अङ्ग
मात्र तिम्रा लागि
गुमाइएकोमा पश्चातापमा छ
उस गम्भीर घायल छ
उही बस्ती उही झुप्रो
त्योभन्दा विकराल अवस्थामा
एक मुठी सासले प्राणको
त्यान्द्रो धानिरहेको छ ।