जगतप्रसाद रेग्मी
बाबा मत नयाँ फूल हुँ
भर्खर फर्कदै छु कोपिला बनेर
दिनको बिहानी त सुन्दर हुन्छ नि है
सबैले जोस, उत्साह, हिम्मत बोकेर
उषाको लाली बोक्दै हिड्ने गर्छन्
बाबा मलाई नि त्यहीँ गर्न मन छ
यो ब्रह्माण्डलाई नियाँलेर
अनेक कौतुहलता छिचोल्दै
हिजोअस्ति देखेका पुर्खाका सपना
धोको बोकेर उठेको छु
बिहानीको सुन्दर किरण
क्रान्तिबिजबाट निर्मित
यो बालापन
जहिले पनि खोजिरहन्छ
नयाँ नयाँ सुन्दर सपना
जता पनि अन्धकार
अनि, विवशतामा बाँचेका मेरा कलिला कोष
टक्क रोकिन्छ
दुबोमा तैरिएको शितको थोपा
खालि खुट्टा भारीको बोझमा
हेर्छु देख्छु, अनि सम्झिन्छु
यो मेरो बिहानीलाई
किन दमन ?
किन अन्याय ?
किन भारी ?
बल्ल बुझे यो त
साहुमाहजनको
जमिनदार, अनि जालीफटाह
शोषणबाट पक्षपोषण रहेछ
यो चलन, यो रीतिथिती
यो शासन, यो व्यवस्था ।
मैले फेरि सोधेँ–
बाबा म त नयाँ फुल हुँ
मेरो र मेरा मजस्तै साथीको
के गल्ती ?
के जन्म लिनु अपराध हो
के यो सुन्दर बगैँचामा
नयाँ फूल फुल्न नपाउने हो ?
के यो संसारमा उम्रिदा
पन्छी बनेर नाच्न नपाउने हो ?
हो भने बाबा भन्नू न
तल्लो घरको शेरे किन स्कुल जान नपा’को ?
अनि, पारिको रमितालाई मर्नु किनपर्यो ?
घरपरको छाप्रो कुर्दा छाउपडीको नाममा
किन हर्के बाको अस्पतालमा उपचार भएन ?
अनि हाम्रो दाइ किन पराइको
गोठालो हुनुपरेको ?
बाबा तपाईलाई थाहा छ
जिम्मुवाल, अनि मुखियाको बुहारीले
माथि बिर्खेको आमालाई त मलमूत्र खुवाएछन नि !
के बिर्खेको बा मरेको भएर हो ?
अझ बाबा सुन्नुहुन्छ ?
तल पानीको धारो
वीरेले छोयो भनेर रक्ताम्य बनाएछन्
बाबा भन्नू त
शेरे, रमिला, हर्के, मेरो दाइ बिर्खेको आमा
वीरे को हुन बाबा भन्नू त ?
छोरी,
यो सबै विवशता व्यवस्थाको हो
यहाँ गरिब–धनीमा खाडल छ
यहाँ उच र निचको भुमरी छ
रीतिथितीको नाममा
कष्टकर जीवन जिउन बाध्य छन् यहाँ
त्यसैले त भन्दै छु छोरी
तिमी बिहानी लाली हो
सबैलाई प्रकाश दिन सक्छौ
तिमीमा हिम्मतको खाँचो छ
शेरे, वीरे, रमिता तयार छन्
सहन, मनन, अनि लालच
कदापि मान्ने छैनन्
त्यसैले छोरी तिमी नयाँ फूल हौ
तिमीले बुझ्नपर्छ ।
हो बाबा म नयाँ फूल हो
अब म सङ्कल्प गर्छु
जरैदेखि उखेल्ने छु
सबै खाले अन्याय
शोषण, अनि दमन
बिहानी लाली झुल्किने छु
नयाँ दिन आउने छ
किनकि
म नयाँ फूल हुँ
नौलो समाज जनता व्यवस्था
मुक्तिको बाटो
म हिँड्ने छु
किनकि म नयाँ फुल हुँ ।