कृष्ण अधिकारी/ पोखरा ।।
स्याङजाकी धनमाया गुरुङलाई उपचारका लागि डुलाउँदा–डुलाउँदै मङ्सिर ५ गते मृत्यु भएको खबरले म स्तब्ध भएँ । आज मङ्सिर ६ गते म बिहानै उठेर रेडियो साराङकोट एफएम सुन्दै बागलुङका लागि जिप खोज्दै पोखराको जिरोमा आउँदै थिएँ । एफएमले भनेको समाचार सुन्दा मानवीय मूल्य यतिसम्म गिरेछ भन्ने कुराले मन भतभती पोलेर समाचारको टिपोट कोर्दै छु।
६० वर्ष पार गरिसकेकी धनमायाका श्रीमान पेन्सेनर रहेछन् । बुढेसकालको उमेर श्रीमान–श्रीमती नै केही बिमार परिएला भनेर घर स्याङजा भए पनि ठुला अस्पतालहरू नजिक पार्न उनीहरू पोखरा आएर बुद्धचोकनजिक डेरा गरेर बसेका रहेछन् ।
हिजो बिहानतिर श्रीमती धनमायालाई सास फेर्न केही गाह्रो भएपछि श्रीमान आत्तिए । कोठाबाहिर निस्केर छरछिमेकलाई भनेँ । उनीहरूकै सहयोगमा एउटा ट्याक्सी खोजेर सृजनाचोकको मेट्रो सिटी पुर्याए । बेड नभएको भन्दै अस्पतालले बिरामी लिएन । त्यही ट्याक्सीमा गण्डकी अस्पताल पुर्याइयो । त्यहाँ पनि बेड नभएको बताइयो । ट्याक्सीमै फेरि चरक पुर्याइयो, तर पनि भर्ना भएन । फेवासिटी पुर्याइयो, त्यहाँ पनि भर्ना भएन ।
अन्तिममा उही टैक्सीमा मणिपाल पुर्याइयो । मणिपालले भर्ना गर्ने भए सवा लाख (१,२५,०००) रुपियाँ धरौटी जम्मा गर्न भन्यो । न बिरामीका श्रीमानसँग, न साथ दिन बिरामी लिएर गएका छिमेकीसँग तत्कालै यति धेरै रकम हुने कुरा भयो । साथमा गएका छिमेकीले अस्पताल प्रशासनलाई पैसापछि जम्मा गर्छौं, बिरामी हेर्नुहोस् भन्दा पनि केही लागेन । छिमेकिले सिडियोलाई फोन लगाए, फोन उठेन । एसपीलाई फोन गरे । उनले यो आफ्नो विभागको केस नभएको जवाफ दिए । अन्ततः धनमायाको उही ट्याक्सीमै प्राण गयो ।
कति हृदयविदारक घटना ! यो अक्कलझुक्कलमा कुनै एक ठाउँमा मात्र घटेको घटना होइन, यस घटनाले समग्र हाम्रो देशको स्वास्थ्यस्थितिको प्रतिनिधित्व गरेको छ । स्वास्थ्यक्षेत्रप्रति राज्यको दायित्व के हो ? धनमायाको मृत्युमा को दोषी छ : डाक्टर ? निजीक्षेत्रका स्वास्थ्य माफिया वा हाम्रो मानवीय संवेदनहीनता ? यस्तो चोट परेक बेला बिरामी भर्ना नगर्ने अस्पताललाई पेट्रोल छर्केर आगो झोसिदिए के हुन्छ ?
मानव स्वास्थ्यजस्तो संवेदनशील विषयमा आज जेजति लापर्वाही भएको छ, यसलाई तत्काल रोक्नुपर्छ । मानवस्वास्थ्यको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ ।