काठमाडौं । भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्र बुझाउँदै भुपू गोर्खाहरुले देशका अन्य नागरिकहरुले पाएजस्तै आफूहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गरेका हुन् ।
भारत, बेलायत र सिंगापुर लगायतका देशमा आफ्नो आधा जीवन विताएर देशको अर्थतन्त्र उकास्न गरेको योगदानको सम्मान गर्नुपर्ने उनीहरुको भनाई छ । ब्रिटिश गोर्खाहरुले गरेको योगदानको अपमान हुने गरी सामाजिक सुरक्षा भत्ता कटौती गरी अरुलाई जस्तो दोहोरो सुविधा लिएको भन्नु गलत भएको भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सचिव पुष्पा राणा घलेले बताए ।
भेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षा भत्ता पाउने अधिकार सबै नागरिकको भएको बताए । अन्य किसिमको सरकारी सुविधा पाउने व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्थाका कारण ब्रिटिश गोर्खाहरुको समेत भत्ता कटौति भएकोप्रति सरकारको ध्यानाकर्षण भएको पनि अर्थमन्त्री पौडेलले बताए ।
सरकारले गत असार १७ गते दोहोरो सेवा सुविधा लिइरहेकाहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो । यो निर्णयबाट भुपू गोर्खा सैनिकहरुले समेत पाउँदै आएको समाजिक सुरक्षा भत्ता कटौति भएको थियो ।