कञ्चनपुर । कञ्चनपुरको दक्षिणपूवी सिमावर्ती भारतीय जंगलमा एक नेपालीको गोली हानी हत्या भएको छ । पुनर्वास नगरपालिका–५ उर्दीका अन्दाजी ३६ वर्षीय शिवलाल रानाको भारतीय दुदूवा नेशनल पार्कसँगै जोडिएको मझेरी जंगलमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुनर्वास नगरपालिका–७ स्थित १८३ नम्बर पिलरदेखि करिब ७ सयमिटर भित्र जंगलमा उनको शव भेटिएको हो । हत्या किन र कसले गर्यो भन्नेबारे खुलेको छैन ।
घटनाको खबर सुनेलगत्तै दुवै तर्फका सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । मृतकको छातीमा वारपार प्वाल परेकाले गोली हानी हत्या गरिएको आशंका दुवै तर्फका सुरक्षाकर्मीले गरेका छन् । तर पुष्टि भने गरेका छैनन् ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टका अनुसार भटना भारतीय क्षेत्रमा परेकाले भारतीय प्रहरीले नै पोष्टमार्टमका लागि शब लिएर गएको छ ।
परिवार स्रोतका अनुसार राना बुधबार दिउँसो २ बजेतिर घरबाट निस्केका थिए । दिनभर डुल्न गएपनि बेलुकी घर आउने राना अबेर सम्म पनि नआएपछि भोलिपल्ट बिहानै सपरिवार उनको खोजीमा जुटेका थिए । खोज्दै जाँदा उनको शव फेला परेको हो । मृतकका परिवारले घटनाको अनुसन्धान गर्न माग गरेका छन् ।