काठमाडौं । विपन्न वर्गलाई काठमाडौंको खुलामञ्चबाट वितरण गरिँदै आएको खाना थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिकैबाट वितरण सुरु गरिएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउने संस्थाहरुबीच भएको सहमति अनुसार खुलामञ्चमा खाना वितरण बन्द गरिएको हो ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाएर भोकै बस्नुपरेका मजदुर लगायत असहाय व्यक्तिहरूलाई विभिन्न संघसंस्थाहरु मिलेर खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आएका थिए । तर, खुलामञ्चमा खाना वितरण गरेकोप्रति काठमाडौं महानगरपालिकाले आपत्ति जनाएको थियो ।
बुधबारदेखि काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूबीचको सहमति अनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै खाना वितरण गर्ने कार्य सुरु भएको हो ।
निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूसँग परामर्श गरेर अस्थायी रूपमा थापाथलीमा खाना वितरणको स्थान तोकिएको र आगामी दिनमा पार्टी प्यालेस वा अन्य थप व्यवस्थित ठाउँमा खाना वितरणको पहल भइरहेको महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए ।
यसअघि नै काठमाडौं महानगरपालिका र खाना वितरण गर्ने संस्थाहरुबीच मंसिर २ गतेबाट बन्द ठाउँमा व्यवस्थित ढंगले खाना वितरण गर्ने र त्यसका लागि महानगरले सहयोग गर्ने सहमति भएको थियो । तर, महानगरले कुनै पहल नगरेको भन्दै मंगलबार पनि खुलामञ्चमै खाना वितरण गरिएको थियो ।
महानगरपालिकाले खाना वितरणका लागि कुनै पार्टी प्यालेस वा बन्द स्थानको व्यवस्था गर्ने बताउँदै आएको छ । खुलामञ्चमा खाना वितरण गर्दा फोहोरबाट थप संक्रमण हुने सम्भावना रहनुका साथै महानगरको बेइज्जत हुने महानगरले बताउँदै आएको छ ।
खुलामञ्चमा खाना खान आएका मजदुर भन्छन् : कि काम देउ, कि खान देउ

