काठमाडौं । विपन्न वर्गका नागरिकका लागि गत चैत महिनादेखि खुलामञ्चमा सञ्चालन गरिँदै आएको मेश आजदेखि बन्द भएको छ । खुला ठाउँमा खाना खुवाउँदा असुरक्षित हुने र रोगको जोखिम झन् बढ्ने भन्दै काठमाडौं महानगरपालिकाले खाना खुवाउन रोक लगाएको हो ।
कोरोना महामारीका कारण रोजगारी गुमाएका विपन्न नागरिकलाई विभिन्न संघ संस्थाले खुलामञ्चमा दिनहुँ निःशुल्क खाना वितरण गर्दै आएका थिए । महानगर र खाना वितरण गर्ने संघ संस्थाबीच खुलामञ्चमा खाना वितरण नगर्ने र बन्द स्थानको व्यवस्था महानगरले गर्ने सहमति भएको जनाइएको छ ।
विगत आठ महिनादेखि खुलामञ्चमा निशुल्क भोजन गर्दै आएका काठमाडौंका विपन्न नागरिकले आज (मंगलबार) देखि त्यहाँ खाना खान पाउने छैनन् ।
कोरोना संक्रमणको कारण रोजगारी गुमाएका बिपन्न नागरिकलाई रोजगारी दिनु त कता हो कता संघसंस्था र व्यक्तिले आफ्नै पहलमा गर्दै आएको निःशुल्क खाना खुलाउने अभियानलाई पनि रोकेर अमानवीय व्यवहार देखाएको भन्दै सरकारको आलोचनासमेत भएको छ।
तर, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने रोजगारी नभएका विपन्नलाई महानगरपालिकाले सातामा दुई दिन रोजगारी दिने र निःशुल्क खाना खुवाउने कार्यलाई थप व्यवस्थित गरिने दाबी गर्दै आएका छन्।

