विदुर शर्मा, दक्षिण कोरिया ।
दक्षिण कोरियामा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ । चिसो मौसम सुरु हुँदै गर्दा विभिन्न स्वास–प्रश्वास सम्बन्धी समस्या देखि कोरोना सम्मको प्रभाव थप बढेर जाने सम्वाभनालाई मध्यनजर गर्दै सरकारले सार्वजनिक स्थानहरूमा नोभेम्बर १३ देखि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम ल्याएको हो ।
सार्वजनिक यातायात, डिपार्टमेन्टल स्टोर, अस्पताल, प्रदर्शनी गृह, सभा सम्मेलन, क्लब, होटेल, रेस्टुरेन्ट, सैलुन लगायत सार्वजनिक स्थानहरूमा अनिवार्य मास्क लगाउनुपर्ने स्वास्थ्य अधिकारीहरुको भनाइलाई उल्लंघन गरेमा स्थानीय प्रहरीले कारवाही स्वरुप पक्राउ गरि कोरियन मुद्रा एकलाख वन जरिवाना समेत तिराउन सक्नेछ ।
कुनै स्वास्थ्य समस्याको कारणले मास्क नलगाएमा, सार्वजनिक स्थानमा खाना खाँदा, मुख धुँदा, पौडी खेल्दा मास्क नलगाएमा जरिवाना नहुने तर मास्क लगाउन पर्ने समयमा नाक मुख नछोपिने गरि लागाएमा समेत कारबाही स्वरुप पक्राउ गरि जरिवाना तिराउन सकिने बताइएको छ ।
दक्षिण कोरियामा हालसम्म कोरोना भाइरसबाट २७ हजार ९४२ जना संक्रमित भएका छन् भने ४८७ जनाको मृतयु भएको छ ।