डा. गोविन्दप्रसाद आचार्य
सृष्टिदेखिको सागर धमिलो
यात्रादेखिको जीवन अमिलो
उदाएर तारा सगरमै बिलाए
अनुहार कस्तो नदेखाई बिलाए
ताराहरू आउन खोज्थे
चराहरू गाउन खोज्थ्थे
ताराले झर्न साहस गरेथे
चराहरूले गाउन आँट गरेथे
धर्ती बिरानो थियो अन्धकार ।
तारा झरेनन् टुकी बलेन
अन्धकारै अन्धकार खुसीका कुखुरा बासेन
चराहरूले खुसीको गीत गाएनन्
फुल कोरल्न बसेका चराहरू
आशा भुतुक्क निभाएर
शिकारीको शिकार बन्थे
चराले फुल कोरलेर
बचेरा भुर्र उडाउने आशाका
अण्डाहरू चिसा भएर कुहिन्थे
मानवको सृष्टि थियो
तर स्वाभिमानको मानव थिएन
ओडार, जङ्गल छोडेर घरमा बस्थ्यो
तर जीवनको संसार थिएन
पसिनाले जमिन लछप्पै भिजाउँथ्यो
तर लरक्क लर्केको बाला
हातमा कहिल्यै परेन ।
जमिनमा पाइला नटेक्नेहरू
लरक्कका धानका बाला समाएर
हासोखुसीमा रमाएको
न धर्ती, न आकाश, न प्रकृति,
न सृृष्टि न दृष्टि
कसैलाई सह्य थिएन
धर्तीमा मानव थियो
तर कहिल्यै घाम नतापेको
धर्तीमा जाँगरिलो मानव थियो
तर झिमिक्क कहिल्यै ननिदाएको
चराहरू गुणमा बचेरालाई
प्यार दिएर निदाउँथे
तर मानव आराम र निद्रा भुलेको थियो
रात र दिनको भिन्नता के हो
तर मानवको होस पाउँदैनथ्यो
नित्य तितो खाएको मानव
मिठोको स्वाद थाहा थिएन
कहिल्यै आगो नतापेको
कहिल्यै न्यानो ओछानमा नसुतेको
हिउँको सर्पजस्तै
चिसो बरफजस्तै चिसो
तर कहिल्यै कसैलाई झम्टिने
टोक्ने प्रयत्न गरेन ।
लेनिनले निर्भिक भएर घण्ट बजायो
धर्ती र मानव जातिको
चीर निन्द्रा तोडियो
आकाशबाट तारा झरे
ताराले धर्तीको जीवन वरपर सर्वत्र हेरे
सागरको पानी कञ्चन भएर बग्यो
सागरको पानी नजर, मन, चित्त खुसी
पारेर बग्यो
रुखमा फलहरू गुलिया
फल्न थाले
फाँटभरि धानका बाला पोटिला
फल्न थाले ।
अक्टोबर क्रान्ति हजारौँ वर्षको प्रयत्न
मानवजातिले मुर्दापन छोडेको दिन
अक्टोबर क्रान्ति छुनमुने सिसु
आमाको प्यार नयाँ वस्त्रमा रमाएको दिन
उज्यालो यथार्थ हो
देख्न भोग्न नपाएको धर्ती
उज्यालोलाई कल्पना मान्न विवस
यथार्थ प्रमाणित भएको
उज्यालोमा खुलेर फुलेको दिन
संसारको आधा भाग उदाउने
र, अस्ताउने सूर्य सबैतिर एकै पटक
खुसी उदाएको दिन
मन अमिलो पार्दै डराएर उड्ने चराहरू
एकै बेगमा खुसी गाउँदै उडेको दिन
सबै देशका कामदार गरिब श्रमजीवीले
जीवनको बाटो देखेको दिन
जाडोले ठिहीले खाएका वृक्षहरूले
न्यानो घाम र नयाँ बसन्त पाएर
हराभरा भएको दिन ।
अन्धकार अलि पर बसे उज्यालोलाई
झम्टिने मौका हेरिरहेको थियो
अन्धकार भुत्तिएका दाँतमा उज्यालोलाई
चपाउन धार लगाउँदै थियो
अन्धकार
स्तालिनको मासु खान सफल भयो
अन्धकार लेनिनले बजाएको घण्टको
रालो फाल्न सफल भयो ।
फेरि सागर धमिलो बगिरहेछ
फेरि जीवन अमिलो बनिरहेछ
अक्टोबर क्रान्ति भनिरहेछ
पूर्वमा रातो लाली सकिएको छैन
संसार आत्तिनुपर्दैन
नपत्याए अलि अलि देखिने
हरेक दिनको घाम हेदाए हुन्छ
संसार आशा निभाउनुपर्दैन
संसारले देखेर, भोगेर
नबिरिएको दिन हो
आत्तिनुपर्दैन
लेनिन र स्तालिनको घण्ट
बज्न रोकिने छैन
संसार आत्तिनुपर्दैन ।
सलाम अक्टोबर क्रान्ति
सलाम लेनिन–स्तालिनको घण्ट
सलाम रक्तरञ्जित झण्डा
अक्टोबर क्रान्ति आउँछ
फेरि नयाँ बसन्त आउँछ
फेरि नयाँ चिडिया गाउँछ ।