नेपाली कम्युनिष्ट कार्यकर्ताहरुमा एउटा महत्वपूर्ण जानकारीको अभाव छ । उनीहरु सोच्ने गर्दछन् कि भौतिकवादी दर्शन सबै पश्चिमतिरबाटै आएको हो । कम्युनिष्ट कार्यकर्ताहरुलाई भौतिकवाद भन्दा पहिले द्वन्द्वात्मक भौतिकवाद जानकारी दिने वा पढाउने हुनाले पनि यस्तो भएको हो । नेपाली कम्युनिष्ट पार्टीहरुका पाठ्यक्रममा पूर्वीय भौतिकवादी दर्शनहरुको पढाइ हुँदैन वा अत्यन्तै कम हुन्छ । त्यसैले पनि पूर्वीय भौतिकवादी दर्शनको बारेमा जानकारीको अभाव छ ।
अध्यात्मवाद भनेको पूर्वीय दर्शन र भौतिकवाद भनेको पश्चिमी दर्शन भन्ने सोचाइले नेपालमा भौतिकवादी दर्शनको विकास हुन सकेको छैन । नेपाल संस्कृत विश्वविद्यालयले पनि अध्यात्मवादी दर्शनको बारेमा बढी जोड दिन्छ । संस्कृतका पण्डितहरुले त भौतिकवादी दर्शनसँग छोइछिटो नै गर्दछन् । यसबाट थाहा हुन्छ कि अध्यात्मवादी दर्शनमा कति धेरै साँघुरो सोचाइ भएका मान्छेहरुले राज गरेका छन् भनेर ।
भौतिकवाद र कार्ल माक्र्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादको बीचमा फरक छुट्टाउन नसक्दा पनि भौतिकवादी दर्शनको बारेमा भ्रमहरु प्रशस्तै रहेका छन् । कार्ल माक्र्सले द्वन्द्वात्मक भौतिकवाद प्रतिपादन गर्नुभन्दा सयौं वर्षअगाडि भौतिकवादी दर्शनले प्रभाव जमाइसकेको थियो । पश्चिमा दर्शनमा भौतिकवादी र द्वन्द्ववादी दर्शनको बेग्लाबेग्लै विकास भएको थियो । फायरबाखको भौतिकवाद यान्त्रिक भौतिकवाद थियो भने हेगेलको द्वन्द्ववाद आदर्शवादी थियो । फायरबाखको भौतिकवाद र हेगेलको द्वन्द्ववादलाई विकास गरेर कार्ल माक्र्सले द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गरेका थिए ।
नेपालमा पूर्वीय दर्शनसम्बन्धी सामान्य बुझाइमा कैयौं समस्याहरु छन् ।पूर्वीय दर्शन भनेकै अध्यात्मवादी दर्शन हो भन्ने कुरा बुझ्ने गरिन्छ । अर्काे ठूलो समस्या भनेको वेद, उपनिषद, विभिन्न स्मृति ग्रन्थहरु नै पूर्वीय दर्शनका ग्रन्थहरु हुन् भन्ने भ्रम पनि समाजमा पाइन्छ ।
वेदको प्रचार अध्यात्मवादीहरुले बढी गरेकाले नै त्यस्तो हुन गएको हो । ईश्वर, भगवान, स्वर्ग, नर्क, पूर्वजन्म, पुनर्जन्मजस्ता पक्षहरुको जनताका बीचमा व्यापक प्रचार गरिएकाले पनि पूर्वीय दर्शनमा अध्यात्मवादले बलियो पकड जमाउँदै आएको थियो ।
पूर्वीय दर्शन भनेको अध्यात्मवाद मात्रै होइन । अध्यात्मवादको सँगसँगै भौतिकवादी दर्शनको पनि उत्तिकै लामो इतिहास छ । भौतिकवादले जनताका बीचमा ठूलो प्रभाव छोडेको छ । भौतिकवादी दर्शनले भौतिक जगतको वास्तविकता बताउँदै अन्धविश्वासहरुलाई चिर्ने काम गरेको छ ।
रामराज रेग्मीले ‘पूर्वीय दर्शनमा भौतिकवाद’ पुस्तक लेखेका छन् । रेग्मीले पूर्वीय भौतिकवादी दर्शनमा योगदान गरेका दार्शनिक र तिनले अगाडि सारेका भौतिकवादी पक्षका बारेमा विश्लेषण गरेका छन् । उद्दालक दर्शन, सांख्य दर्शन, चार्बाक दर्शन, जैन दर्शन, बौद्ध दर्शन, वैशेषिक दर्शन, न्याय दर्शन र मीमांसा दर्शनको उत्पत्ति र विकासका बारेमा व्याख्या र विश्लेषण गरेका छन् । त्यसबाहेक चीनियाँ दर्शन, इस्लाम दर्शनलगायतका दर्शनको पनि जानकारी दिएका छन् ।
कुनै पनि दर्शन एकैपटक परिस्कृत भइहाल्ने होइन । तत्कालीन भौतिक परिस्थिति, उत्पादनका साधनहरु, उत्पादनको अवस्था, उत्पादनमा प्रयोग हुने औजारहरु र उत्पादनमा लाग्ने मान्छेहरुको संघर्ष र चेतनाले निर्धारण गर्दछ । यो मानव विकासमा भइरहने प्रक्रिया हो ।
वेद सबैभन्दा पुरानो ग्रन्थ हो भन्ने कुरामा हालसम्म विवाद छैन । जेसुकै भए तापनि वेदको रचना धेरै कठिनतम समयमा भएको थियो । जुन समयमा कागजको आविष्कार भएको थिएन, त्यो समयमा अघिल्लो पुस्ताले कण्ठ गरेका कुराहरु पछिल्लो पुस्तालाई कण्ठ गराउँदै हजारौं वर्षसम्म पुस्तान्तरण हुँदै आएको हो । वेदको रचना प्राचीन मानव इतिहासको सबैभन्दा महत्वपूर्ण रचना हो ।
हामीले वेदकालीन समयको बारेमा विश्लेषण गर्दा के पाउँछौं भने वेद कुनै एक जनाले मात्रै लेखिएको पनि होइन र कुनै खास एउटै कालखण्डमा पनि लेखिएको होइन । तर वेदको रचनाले सिंगो मानव जातिलाई ठूलो योगदान पुगेको छ । वेदलगायत सबै धार्मिक ग्रन्थहरुको समस्या के छ भने तिथिमिति कहिले थियो र लेखक को थिए भनेर पत्ता लगाउन धेरै नै गाह्रो पर्दछ ।
तैपनि जेजति सामग्रीहरु उपलब्ध छन्, तिनीहरुबाट सही कुरा पत्ता लगाउने कोसिस हुनुपर्दछ । रामराज रेग्मीले विभिन्न पूर्वीय भौतिकवादी दर्शनका बारेमा सक्दो व्याख्या गरेका छन् ।
उद्दालकदर्शन
पूर्वीय दर्शनमा अत्यन्तै कम चर्चा गरिने दर्शन हो । रेग्मीले यो दर्शनको बारेमा जेजति लेख्ने प्रयत्न गरेका छन्, त्यसले उपनिषदकालको भौतिकवादी सोच, व्यवहार र दार्शनिक मान्यतालाई उजागर गरेका छन् । उद्दालक याज्ञबल्कका गुरु भएको तथ्य पेश गरिएको छ ।
ईशापूर्व ७ सय वर्ष पुरानो दर्शनले त्यतिबेला जेजति भौतिकवादी अवधारणाहरु दिन सक्यो, त्यसले पछिल्लो पुस्तालाई आफ्ना धारणाहरु विकसित गर्न मद्दत पुगेको अनुमान गर्न सकिन्छ ।
सांख्य दर्शन
सांख्य दर्शन धेरै नै परिस्कृत छ । कपिल ऋषि यसका प्रणेता हुन् । कपिल ऋषिलाई भौतिकवादी र अध्यात्मवादी दुवै दार्शनिकहरुले उत्तिकै सम्मानपूर्वक हेर्ने गर्दछन् । उनले जुन सांख्यसूत्रको रचना गरेका छन्, सांख्य दर्शनको मूल आधार त्यही नै हो । उनले अध्यात्मको विपरीत धारमा आफूलाई उभ्याइदिए ।
सांख्य दर्शनले प्रकृतिमा हुने सत्व, रजस् र तमस् यी तीन गुणहरुको प्रतिक्रियाबाट नै प्रकृतिमा विकास हुने बताएको छ । यसले ईश्वर वा भगवानप्रति भरोसा नगरी भौतिक तत्वहरुको बारेमा व्याख्यामा आफूलाई उभ्यायो ।
सांख्य दर्शनले व्याख्या गरेका २५ तत्वहरु प्रकृति पुरुष, अन्तकरण (मन, बुद्धि, अहंकार), पञ्चज्ञानेन्द्रीय (नासिका, जिह्वा, नेत्र, त्वचा, कर्ण), पञ्चकर्मेन्द्रीय (पाद, हस्त, उपस्थ, पायु, वाक), पञ्चतन्मात्रा (गन्ध, रस, रुप, स्पर्श, शब्द), पञ्चमहाभूत (पृथ्वी, जल, अग्नि, वायु, आकाश) रहेका छन् । यी सबै भौतिक तत्वहरुको प्रतिक्रिया निम्नस्तरबाट माथिल्लो स्तरमा हुँदै जाने व्याख्या गरिएको छ ।
भौतिक तत्वहरुको व्यवस्थित ढंगले जसरी सांख्य दर्शनले व्याख्या गर्न सक्यो, त्यसपछि भौतिकवादी दर्शन धेरै विकसित हुँदै गयो ।
चार्बाक
चार्बाक दर्शनलाई लोकायत दर्शन पनि भनिन्छ । चार्बाक दर्शनले मूलरुपमा भौतिक जगतमाथि नै विश्वास गर्दछ । ईशापूर्व आठौंदेखि छैठौं शताब्दीतिर यो दर्शनको उदय भएको विश्वास गरिन्छ ।
चार्बाक दर्शनका प्रणेता को हुन् भन्ने कुरा विवादित छ । यद्यपि यो दर्शन लोकप्रिय दर्शन थियो । मानिसहरुलाई धर्म र रुढीवादले ग्रस्त बनाइरहेको समयमा कुरीतिका विरुद्धमा उभ्याउने प्रयत्न यस दर्शनले गरेको थियो ।
चार्बाकलाई जनतासँग सुमधुर हुन सिकाउने दर्शन पनि भनिन्छ । यो दर्शनको नाम चारु (सुन्दर) र वाक (बोलीवचन) मिलेर बनेको बताइन्छ । जनताको दुःखसँग सम्बन्धित पक्षहरुमा व्यवहारिक ज्ञान दिएको हुनाले यो दर्शन लोकप्रिय थियो भनिन्छ ।
जैन
जैन दर्शनले ईश्वर सम्पूर्ण सृष्टिकर्ता हुन् भन्ने जुन पौराणिक मान्यता थियो, त्यसलाई खण्डन गरेको थियो । जीव र पदार्थ एउटै छैनन्, बेग्लाबेग्लै छन् भन्ने कुरामा यसले विश्वास राख्दछ । जैन दर्शन निकै धनी मानिन्छ । जैन दर्शन पछि धर्मको रुपमा पनि विकास भयो । दुई दर्जन आदर्शपुरुषहरुलार्ई जैन दर्शनको प्रणेताको रुपमा लिइन्छ । जसलाई तीर्थङ्कर भनिन्छ । तीर्थङ्करहरुले मान्छेलाई चेतनशील बनाउने काम गर्दथे । जैन दर्शन सामूहिक प्रयासको प्रतिफल हो ।
बौद्ध दर्शन र जैन बुद्ध दर्शनका कैयौं विशेषताहरुले आपसमा मेल खान्छन् । जैन दर्शन पनि बौद्ध दर्शनजस्तै अध्यात्मवादी धार्मिक सत्ताको विरुद्धमा खडा भएको थियो । यो दर्शनले जीव र अजीव दुवैलाई तत्वको रुपमा मानेको छ । तत्वहरुमा लगातार विकास हुने प्रक्रिया यसको भौतिकवादी पक्ष हो । कुनै पनि तत्वको परिवर्तन सुक्ष्म र अदृश्य हुने कुरा जैन दर्शनले मान्यता राख्छ । जैन दर्शनले भनेको सुक्ष्म विकासलाई माक्र्सवादीहरुले मात्रात्मक परिवर्तन भनेका छन् ।
जैन दर्शनले मान्छेको सुख, दुखलाई कुनै अलौकिक ढंगले होइन कि मान्छेको दैनिक जीवनबाट हेर्ने गर्दछ । जैन दर्शनले तत्कालीन समाजलाई धर्म र अन्धविश्वासबाट मुक्त गर्नको लागि ठूलो मद्दत गरेको थियो ।
बौद्ध दर्शन
गौतम बुद्धले प्रतिपादन गरेको दर्शन मूल रुपमा अनिश्वरवादी दर्शन हो । यसले ईश्वरको अस्तित्वलाई खारेज गरिदिएको थियो । भगवानको अस्तित्वलाई अश्वीकार गरिदिएको थियो । बुद्ध दर्शनले भौतिक जगतको उत्पत्ति र विकास भन्दा पनि मानव जीवनमा घट्ने घटनाक्रमहरुको व्याख्या गरेको छ ।
मान्छेलाई दुःख छ, दुखका कारणहरु छन् र दुःख हटाउने उपायहरु छन् ।बौद्ध दर्शन मान्छेलाई परेका दुख हटाउने खोजीमा रहेको देखिन्छ । बुद्ध दर्शनले परिवर्तनलाई मान्यता दिएको छ । हरेक कुरा अस्थिर रहन्छ त्यही अस्थिरताको कारण निरन्तर परिवर्तन भइरहन्छ भन्दछ । त्यसैले बुद्ध दर्शन परिवर्तनको दर्शन पनि हो ।
धेरै काम, धेरै क्रोध, धेरै मोह, धेरै रिस जस्ता कुराहरुले मान्छेलाई दुःख दिने कुरा यो दर्शनको अर्काे मान्यता हो । जीवनलाई ठीक ढंगले चलाउनुपर्ने यो दर्शनको उद्देश्य हो ।
बौद्ध दर्शन व्यवहारवादी दर्शन पनि हो । बुद्धले स्वर्ग, नर्क, परलोक, पूर्वजन्म, पुनर्जन्मजस्ता कुराहरुलाई खारेज गरिदिएका थिए । अरुलाई धोका दिने, चोरी गर्ने, धेरै धन सञ्चय गर्ने, भ्रष्टाचार गर्ने जस्ता कुराहरुलाई बुद्धले खराब कामको सूचीमा राखेका छन् ।
वैशेषिक दर्शन
यो विशिष्टीकृत भौतिकवादी दर्शन हो । वैशेषिक दर्शनले कुनै पनि पदार्थहरुमा विशिष्ट गुणहरु हुन्छन् भन्दछ । प्रकृतिमा घट्ने घटनाक्रमहरुको विशिष्टतापूर्वक अध्ययन गर्नु र निष्कर्ष निकाल्नुपर्दछ भन्ने मान्यता राख्दछ । पृथ्वी, जल, अग्नि र वायुका परमाणुहरु शाश्वत हुने र यिनीहरु नष्ट नहुने तर्क अगाडि सारिएको छ । यो दर्शनमा अणु र परमाणुको व्याख्या जसरी गरिएको छ, त्यसले अहिलेको परमाणु युगमा पनि त्यत्तिकै महत्व राख्दछ ।
ईशापूर्व दोस्रो सताब्दीमा अस्तित्वमा आएको मानिने यो दर्शनका प्रणेता कणाद ऋषि हुन् । यो दर्शन सुरुमा धर्मको विपरीत उभिएको थियो । धेरै विकसित हुने अवसर प्राप्त नगरे पनि यसले तत्कालीन समयमा सक्दो भौतिकवादी अवधारणा अगाडि सारेर स्थापित गरेको पाइन्छ ।
न्याय दर्शन
सुरुमा न्याय दर्शन ईश्वरवादी थिएन । यसले भौतिकवादी दृष्टिकोण अपनाएको थियो । तर विस्तारै ईश्वर सृष्टिकर्ता हुन् भन्ने अवस्थामा पुगे पनि उसका सुरुका दृष्टिकोणहरु महत्वपूर्ण छन् ।
अनुभव र व्यवहारको महत्वको बारेमा न्याय दर्शनले व्याख्या गर्न खोजेको देखिन्छ । हरेक वस्तुको बारेमा जानकारी लिन खोज्नु यसको भौतिकवादी पक्ष हो । प्रत्यक्ष प्रमाण, अनुमान, छलफलहरु गरेर यसले भौतिक तत्वको अस्तित्वमाथि विमर्श गर्दछ ।
मानव जीवनमा ज्ञान प्राप्तिको महत्वको बारेमा यसले जसरी आफूलाई उभ्याउन खोज्यो, न्याय दर्शनको विशिष्टता त्यसैमा छ । ज्ञान केवल ईश्वर वा परमात्माबाट प्राप्त हुन सक्ने कुरा थिएन । त्यसको लागि प्राणी, जगत र वस्तुको बारेमा अध्ययन गर्नुपर्ने थियो । न्याय दर्शनले त्यो पक्षमा विशष जोड दिएको छ ।
मीमांशा दर्शन
जैमिनीले प्रतिपादन गरेको मीमांसा दर्शन सूत्रहरुमा आधारित छ । मीमांसासूत्रमा विभिन्न २५ सय श्लोक रहेका छन् । मीमांशा दर्शनले प्रमाणहरुलाई नै ज्ञान प्राप्तिको आधार मान्दछ । इन्द्रीयबाट सीधा सम्पर्क भएर प्राप्त हुने ज्ञान प्रत्यक्ष ज्ञान हो भन्ने कुरा मीमांसाले स्थापित गरेको थियो ।
अनुमान, उपमान, शब्द, घटनाहरुलाई पनि ज्ञान प्राप्तीको स्रोत मानिएको छ । मीमांसा दर्शनले कहिल्यै नाश नहुने पदार्थहरुबाट सम्पूर्ण जगत निर्माण भएको मान्यता राख्दछ । यो भौतिकजगत स्वचालित भएको हुनाले यसलाई सञ्चालन गर्न कुनै तत्वको आवश्यकता नपर्ने व्याख्या गर्दछ । जब कि अध्यात्मवादीहरुले यो जगतको सञ्चालन ईश्वरले गरेका छन् भनेर निरन्तर भन्दै आएका थिए ।
वेदको कर्मकाण्डीय व्याख्यालाई फरक ढंगले व्याख्या गर्ने दर्शन नै मीमांशा दर्शन हो । आदिम कालमा कर्मकाण्डीहरुले जसरी अध्यात्मिक ढंगले वेदको व्याख्या गर्दै आइरहेका थिए र ईश्वरलाई सत्य मानिरहेका थिए, त्यसभन्दा ठीक विपरीत वेदको भौतिकवादी व्याख्या मीमांशा दर्शनले गरेको छ ।
जैमिनीले पदार्थभित्र गतिशील शक्ति हुने बताएका छन् । जैमिनीले वेदको उल्टोपाल्टो व्याख्यालाई जसरी भौतिकवादी दृष्टिकोणले हेर्ने काम गरिदिए, त्यसले भौतिकवादी दर्शनको विकासमा महत्वपूर्ण योगदान पुग्यो ।
अन्त्यमा
दर्शन पूर्वीय होस् वा पाश्चात्य, त्यसले समाज परिवर्तनमा योगदान गर्नुपर्दछ । कुनै दर्शन पूर्वीय हुनु र कुनै दर्शन पाश्चात्य हुनु महत्वपूर्ण होइन । महत्वपूर्ण त यो हो कि उक्त दर्शनले समाज परिवर्तनमा कत्तिको योगदान दिन सक्यो । दर्शनले समाजको परिवर्तनमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्दछ । त्यसले नै दर्शनको महत्वलाई बढाउँदै लैजान्छ ।
पुस्तकमा प्राचीन चीनियाँ दर्शन ताओवादको बारेमा पनि व्याख्या गरिएको छ । तन्त्रवाद, इस्लाम, बज्रयान जस्ता दर्शनहरुको बारेमा पनि पुस्तकमा छोटकरी चर्चा गरिएको छ । सरल भाषामा लेखिएको पुस्तक दर्शनमा रुची राख्ने सबैको लागि निकै उपयोगी छ । यो पुस्तकले दर्शनको अध्ययनमा थप रुची पैदा गर्न सक्छ ।
पूर्वीय भौतिकवादी दर्शन महत्वपूर्ण अध्ययनको विषय हो । यसले पूर्वीय दर्शनको प्राचीन भौतिकवादी धारालाई बुझ्न मद्दत गर्दछ । यो भौतिकवादी दर्शनले ब्रह्माण्ड, समाज, पदार्थलाई कसरी व्याख्या गर्छ भन्ने कुरा जानकारी हुन्छ ।
प्राचीन समाज र इतिहास बुझ्न एवं वर्तमान संसार बदल्ने दिशामा अगाडि बढ्नको लागि पनि प्राचीन दर्शनहरुको अध्ययन आवश्यक छ । दर्शन केवल अध्ययन मात्रै गर्ने विषय होइन, यो समाज परिवर्तनको माध्यम पनि हो ।
पूर्वीय भौतिकवादी दर्शन अध्ययन गर्नको लागि कुनै एउटै मात्र पुस्तक पर्याप्त हुँदैन । त्यसको लागि धेरै पुस्तकहरुको अध्ययन गर्नुपर्दछ । तर पूर्वीय भौतिकवादी दर्शनको बारेमा जानकारी दिने पुस्तकको अभाव भएको समयमा रामराज रेग्मीले जुन मेहनत गरेका छन्, त्यो प्रशंसनीय कार्य हो र त्यसलाई सकारात्मक मान्नुपर्दछ ।
‘पूर्वीय दर्शनमा भौतिकवाद’ पुस्तक जागरण बुक हाउस बागबजारले छापेको छ । पुस्तकको साजसज्जामा निकै ध्यान दिइएको छ र राम्रो बनाइएको छ । ३१४ प्लस २६ पेज रहेको पुस्तकको मूल्य ४७५ राखिएको छ ।

