काठमाडौँ । नेपाल पत्रकार महासङ्घले यही कात्तिक २६ गते तीन वटा सञ्चारगृहमा कालो ब्यानर टाँसेर धर्ना दिने आन्दोलन गर्ने भएको छ ।
कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरूको ससम्मान पुनर्बहाली, यसबिचको तलबभत्ता उपलब्ध गराउन, दसैँ खर्चलगायतका विगतमा दिँदै आएका सेवासुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावलीअनुसारका सेवासुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिँदै महासङ्घले ती सञ्चार गृहमा बिहीबार पत्र पठाएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टी.बी.आई. पब्लिकेसन्स प्रालि र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रालिलाई पटक–पटक लिखित र मौखिक पत्र तथा वार्ताबाट महासङ्घले गरेको आग्रहबमोजिम श्रम समस्या हल अझै हल नगरेकाले पाँच दिनभित्र माग सम्बोधन नगरे पहिलो चरणको आन्दोलन थाल्ने जानकारी गराइएको महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको निर्णयबमोजिम पत्राचार गरिएको हो ।
पाँच दिनभित्र सम्बद्ध सञ्चारगृहको व्यवस्थापनले आन्तरिक रूपमै समस्या सम्बोधन गरी महासङ्घलाई आन्दोलन जानबाट रोक्ने विश्वासका साथ पत्राचार गरिएको महासङ्घका सचिव रामप्रसाद दाहालले जानकारी दिए ।
दाहालका अनुसार, माग पुरा नभए महासंघको नेतृत्वकै अगुवाईमा हुने पहिलो चरणको आन्दोलन सम्पन्न गरी दोस्रो चरणमा सम्बद्ध सञ्चार गृहका संचालको निवास घेराउ र त्यतिले पनि नभए तेस्रो चरणमा पिडीत सञ्चारकर्मीलाई सत्याग्रहमा राख्नेबारे महासंघ छलफलमा रहेको छ ।
२६ गते हुने आन्दोलनको तयारी थाल्न महासंघले सम्बद्ध मिडिया प्रतिष्ठानमा रहेका महासंघका शाखालाई निर्देशन समेत दिइएको छ ।

