मिनबहादुर राना ।।
“हेर्नुस् सम्डी, मैले डेखुन् यो उमेरमा यसरी डेखुन् डुःख पाउनलाई आफूले बैसमा नखाइनलाइ डेखुन् सम्पटि जोगाइ राखेको रैछु ।”
असी वर्ष टेकेको मान्छे । डुब्लाएर छेपारोजस्तै भएको बुढोको आँखामाथि चोट लागेको थियो । अनुहार सुन्निएको थियो । हात र खुट्टाको छाला दर्फराएको थियो । आसकोटको एकातिरको पल्ला च्यातिएको थियो ।
“हजुरको सम्डेनीले डेखुन् बेलैमा बाटो टटाएर डेखुन् ठिकै गरिछे भन्ने लाग्छ सम्डी । मैले ट डेखुन् यो बुढेसकालमा डेखुन् असाढ्यै डुःख पाएँ सम्डी । हिजो राटै भरी डेखुन् डुई भाइ मिलेर डेखुन मलाई सुट्नै डिएनन् । मैले डेखुन् ढन्न डेखुन् सम्डी छिमेकी पक्का पाएको छु । डुई भाइले डेखुन् मलाई पिट्न भनेर पालै पालो डेखुन् राटै भरी जम्काजम्की गरेर हैरान पारे । बुरारे मइलाको बुराबुरीले डेखुन् राटै भरी मलाई कुरेर बसे ।”
एकाबिहानै घैडाँडे मामा हाम्रो घरमा रुन आएका थिए । उनी केही गाह्रोसाह्रो पर्यो भने हाम्रो बाबासँग उजुर गर्न आउँथे । घैडाँडे मामा चौध वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए । जापानसँगको लडाइँमा वीरतापूर्वक लडेका थिए । लडाइँमा वीरता देखाएर बेलायती महारानीको हातबाट भिसीभन्दा तलका चार थान युद्धपदक पाएका थिए । घैडाँडे मामा पल्टने जीवनभरि लडेका र लडाइँभरि तोप चलाएका थिए । त्यसैले उनले कानको सुन्ने शक्ति उतै युद्ध मैदानमै छाडेर आएका थिए ।
“पल्टनका सबै सकिएपछि जिम्दो आएकालाई मेडल दिएकाले घैडाँडे बुढाले यत्रा पदक भेटे । बुढा असाध्यै डरछेरुवा । अगाडि जानुपर्छ भनेर पछाडि बस्ने मेसो खोजेका । अनि तोपखानामा परेछन् । ज्यान फर्काए पनि कान उतै छोडेर आएछन्…” गाउँका केही बुढाहरू गफ गर्दा उनको खिसी गर्थे ।
लडाइँको कुरा सुरु हुनेबित्तिकै घैडाँडे मामाको आँखा चम्किला हुन्थे । जिउमा जोस र जाँगर भरिएर आउँथ्यो ।
“हेर भान्जा ! यताबाट हामी तयारीको साथ गएका थियौँ । दुस्मन हामीले सुराकी पाएको ठाउँभन्दा धेरै पछाडि हटेर बसेको रहेछ । हाम्रो पल्टन् यस्सो खाल्टोजस्तो परेको ठाँउमा पुग्दा एक्कासी उताबाट दुस्मनले असिना झैँ गोली वर्षायो । एकतर्फी हानेकोहान्यै छ । हाम्रो फौजको नामनिशाना छैन । हामी तोप हान्ने अल्लि पछि परेकाले जोगिएर बस्यौँ । पूरै रात गयो । उजेलो भयो । भोक र प्यासले आकुलब्याकुल बनायो । भएन भनेर गोरा साहेबले जा लुकेर हेरेर आइज, हाम्रो केटाहरूले के गर्दै छ भन्यो । म लुकेर हेर्न भनेर डाँडामा पुगेँ । हाम्रो फौजका जवानहरू सकिएछन् । दुस्मनले फायरिङ छाडेर हाम्रो हतियार जम्मा गर्न थालेको रै’छ । घाइतेलाई उठाउँदै गोली ठोक्दै गरेको थियो । हाम्रो यौटा गल्ला ढिस्कोमा छेलिएर मिसिनगनले सिस मात्रै लिएर बसेको रैछ । नजिकै गएर हान न तेरो बाउलाई भनेको, त्यसका बाउको हिम्मत भए पो हान्नु त ? साले त मुत छाडेर बसेको रैछ । मेरो पालो त्यसलाई लात्ताले धपाएर टिगर दबाएर मेसिनगन टट्ट्ट्ट्टट्ऽऽऽऽ घुमाउन थालेको… !! तेस्का बाजे दुस्मनले खुट्टा तन्काउन थाल्यो । मेरो जोसले होस् गुमायो ।”
“ए केटा हो हान् ! तेरा बाजे त ढुलोपिठो भयो । उठेर बजा ।” भन्न के भ्याथेँ, घाइते भएर ढलेका र जिम्दो भएका हाम्रा जवानहरू उठेर खुकुरी नचाउन थाले । जितेर फर्कने बेलामा त ज्या पूरै घाइते मात्रै । विजय भनेपछि त्यसरी घाइते भएर लतमन्न परेकाहरूमा पनि प्राण जागेर आउँदो रै’छ । त्यसरी मैले दुइटा वीरचक्र पाएँ । महारानीको हातबाट बिगुलको बजाएर टक्मा लगाइदिँदा आहाऽऽऽ के बयान गर्नु र ?” युद्धका यस्ता कहानी उनले धेरै सुनाउँथे ।
घैडाँडे मामाले दोस्रो विश्वयुद्धमा वीरता देखाए तापनि विश्वयुद्ध सकिएपछि नामकटुवामा परेका थिए । बेलायतले विश्वयुद्धमा लडेका नेपालीलाई त्यसरी आफ्नो प्रयोजन सकिएपछि सेनाको सङ्ख्या घटाउँदै लगेको थियो । त्यति बेला घैडाँडे मामासहित धेरै नेपाली बेलायती सेनाबाट बिना पेन्सन नाम मात्रको बोनसमा निकालिएका थिए ।
जर्मनसँगको लडाइँमा वीरता देखाए पनि जापानसँगको लडाइँमा लड्दालड्दै जापानको कब्जामा परेर युद्धबन्दी बनाइएका थिए । जापानले युद्धबन्दीलाई कष्टपूर्ण यातना दिन्थ्यो; भोकैतिर्खै राख्थ्यो; पिट्थ्यो; दिउँसो चर्को घाममा सुकाएर राख्थ्यो; राति हजारौँ जनालाई एउटै खोरमा थुनेर राख्ने गथ्र्यो । त्यस्तो यातना सहन नसकेर कति बन्दी त्यहीँ मरे; कोही जीवनभर गरिखान नसक्ने भए ।
घैडाँडे मामा पल्टनबाट फर्कंदा जापानीको यातनाले विक्षिप्त भएका थिए । त्यसैले उनले अलिकता सम्झने शक्ति गुमाएका थिए । महारानीले टक्मा लगाइदिएको र उहाँले हातमा चुम्मा गरेको दुई थान फोटो, अनि आपूmले पाएकामध्ये चार थान तक्मा सुरक्षित राखेका थिए । महारानी एलिजावेथलाई उनले खुब सम्मान र प्रेम गर्थे । नसकी–नसकी डोको बुनेर बेचेको पैसा, नखाई–नखाई जोगाएर बजारबाट राम्रो फ्रेम लिएर, त्यो फोटोलाई भुपडी घरको ढोकामाथि टाँगेका थिए ।
पल्टने जोस र ठाँट त उनमा बुढेसकालसम्म थियो । माइजूसँग ठट्टा गर्दा कहिलेकाँही रिसाएर माइजूले कुचोको डाँठले हातमा हान्नुहुँदोरहेछ ।
“बेलायती महारानीले चुम्मा गरेको हात हो यो ? मामुली हात सम्झेको छस् कि ? तैंले माल पाएर चाल नै पाएकी छैनस् । यस्ता अबुझीलाई अब के भनम् ? बेलायतकी महारानी तेरी आमै खुजेबुढी होइन, संसारकै रानी हो” मामाले जिस्कँदै भन्थे ।
लडाइँबाट फर्केपछि पहाडमा बसेर दुःख गर्न सकुँलाजस्तो लागेन । त्यसैले उनले गाउँको सुर्कासुर्की जग्गा त्यसै छाडेर पल्टनमा छँदा कमाएको अलिकता पैसाले तराईमा जग्गा किने । सानो भुपडी घर बनाएर त्यही घरमा दुःखले गुजारा चलाउन थाले । दुई भाइ छोरा र एउटी छोरीलाई खुवाउन, पिलाउन पनि मुस्किल हुन्थ्यो । धान त खेतमा फल्थ्यो, तर नुनतेल किन्नैपर्ने, लत्ताकपडा किन्नैपर्ने । चाडबाड आउँछ, केटाकेटीले चिचीचिउरा खान रहर गर्छन् । आफ्नो कतै गएर कमाउने हब्बा छैन । कोटाकेटीले भुँइ छोडेका छैनन् । आउने बाटो कतै छैन ।
यसरी दुखैदुःखमा हराइरहेको घैडाँडे मामालाई एक दिन यौटा आशाको त्यान्द्रो पलायो । ‘बेलायत सरकारले नामकटुवालाई पनि पेन्सन दिन थालेको छ’ भन्ने थाहा पाए । त्यसपछि उनले पेन्सन क्याम्प र जिल्लामा खुब धाए । यताउता हारगुहार गरे । उनीसँग त्यही दुई थान फोटो र चार थान टक्मा मात्र थियो । त्यत्तिको भरमा पेन्सन नमिल्ने भयो । उनले त आफ्नो पल्टन र नम्बर पनि बिर्सिसकेछन् । लडाइँमा परेर उनको पल्टन धेरै पल्ट खरानी भएको थियो । त्यति बेलाको व्यवस्थानुसार उनीलगायत बाँचेखुचेकालाई अर्को पल्टनमा मिलाइएको थियो । त्यसैले पनि उनले पल्टन सम्झन सकेनन् । भएका कागजपत्र पनि बर्खामा घर चुहिँदा भिजेर धुजाधुजा परेछ । रोगी शरीर यताउता लत्रँदालत्रँदै उनले पाँच कट्ठा खेत पनि सकिसकेछन् ।
“अब म पेन्सनको पछि लाग्ने हो भने यी छोराहरूले मेरो घर भनेर खाँबो ठड्याउने ठाम पनि पाउन्नन्” भनेर उनले पेन्सनको आश मारेका थिए ।
छोराहरू हुर्के, बढे, बिहाबारी गरे । छोरी पनि भान्जालाई दिइपठाए । नातिनतिना पनि भए । घैडाँडे मामालाई भने बुढेसकालमा सुख होलाभन्दा दुखैदुःख आइलाग्यो । उतिबेला खुवाउन, पिलाउन त मुस्किलले पुग्थ्यो, तर छोराहरूलाई कसरी पढाउने ? जतिसके स्कुलसम्मको पढाइ गरेका छोराहरू बिहे गरेपछि छुट्टिनको हतार भयो । सम्पत्ति बाँडीचुँडी गरेर त्यही भएको झुपडी र वरिपरिको दुई थान सुर्का बुढ्यौली राखेर बुढाबुढी मात्र बस्न थाले ।
छोराहरूले आआफ्नो बन्दोबस्त गरेर बस्न थाले; तर बाले बुढ्यौली धेरै राखे भनेर दुई भाइ झगडा गर्न आइरहन्थे । छुट्टिएको अर्को वर्ष घैडाँडे माइजूलाई सर्पले टोक्यो । उपचार गर्ने त के, कात्रो किन्ने पैसा थिएन घरमा । माइजू बितिन् । घैडाँडे मामा एक्लै भए । छोराहरूले बुढो भएको बाबाको हेरचाह गर्लान्भन्दा उल्टै निहुँ खोज्थे । पिट्ने र लखेट्ने गर्थे ।
घैडाँडे मामा बुढो मान्छे । खानपिनको ठेगान छैन । नाम्लो दाम्लो बाट्न पनि नसक्ने भइसकेका थिए । फेरि आज छोराहरूले दुःख दिएर लौरोको सहाराले हाम्रो घरमा त्यसरी रुन आएका थिए । उनको लौरो कति पुरानो हो ? भन्न मुस्किल थियो । टेक्दा टेक्दा हातको पसिनाले चिल्लो भएको त्यो लौरोले उनको संसार थामेको थियो ।
“म त डेखुन् यो वर्ष ट मर्छु होला सम्डी । घर पनि डेखुन् चुहेको छ । छाउनको लागि मेरो डेखुन् टाकट छैन । छोरा भन्ने डुश्मनहरूको ट डेखुन् उपटि अघि नै पनि डेखुन् भनि सकेँ । अब ट बाँचेर पनि डेखुन् दुख डेखाउनु माट्र हुन्छ सम्डी” भन्दै फेरि रुन थाले ।
“सम्डी, पिर नर्गनुस् । हजुरको भान्जाहरूलाई मैले घर बनाउन पठाइडिम्ला । खानपिउनको पिर नर्गनुस् । म हेर्छु नि सम्डी !! म मरेको छैन सम्डी !” भन्दै हाम्रो बाबाले सम्झउनुभयो । त्यही दिन हामी तीन भाइले जङ्गलबाट चारचार भारी थाक्कल काटेर ल्याएर मामाको घरअगाडि थुपा¥या¹ । भोलिपल्ट साताभाता तयार पारेर थाक्कल सुक्नेबित्तिकै घैडाँडे मामाको घर छाइदिने तरखर गरेका थियौँ ।
छोराहरूको पिटाइले घैडाँडे मामाको रोगी जीउमा बेसरी मर्का परेको रै’छ । हाम्रो बाबाले किनिदिएको औषधी खान मानेन् । त्यसै–त्यसै नबोलेर टोलाएर बस्ने गर्न थाले; र त्यसको केही दिनमा झुपडी छाएको पनि देख्न नपाई घैडाँडे मामाले संसारबाट बिदा लिए ।
“गोरा साहेबले कानमा हाल्नलाई डेखुन् रुइजस्टो फुल्लिने चिज डिन्ट्यो भान्जा । मैले ट डेखुन् गुरुम्म–गुरुम्म पड्केको सुन्न मजा मानेर डेखुन् रुइसुइ मिल्काएर चार जनाले उठाउनुपर्ने यट्रा–यट्रा लोला डेखुन् एक्लै टोपमा जाक्डिन्ट्याँ । ट्यै रमाइलोले डेखुन् कान हरायो भान्जा” भन्दै दोस्रो विश्वयुद्धको सजीव कहानी सुनाउने ८४ वर्षे वीर र्गोखाली घैडाँडे मामा मरे ।
घैडाँडे मामा मरेको आठ दिनको दिन गोर्खा वेल्फेयरका मान्छेहरू घैडाँडे मामाको नाम, नम्बरसहित खोज्दै आइपुगे । उनी मरेको थाहा पाएपछि वीर गोर्खाली योद्धाको सम्मान र सम्झनामा शिर झुकाएर मौनधारण गरे । उनका छोराहरूलाई वीर गोर्खाली योद्धाका सपुत भनेर सम्मान गरे । काजक्रिया सकेर अहिलेसम्म रोकिएको पेन्सन, क्रिया खर्च र युद्धबन्दी भएका वीर गोर्खाले पाउने क्षतिपूर्ति बुझ्न वेल्फेयर कार्यालयमा आउन उनका छोराहरूलाई निम्ता दिएर गए ।
“यी घैडाँडेका छोरोहरू त वीर मात्र होइनन् ! यी त महावीर हुन !? त्यस्ता वीर बाबालाई पनि हैरानै पारेर मारे ।”
“त्यो बुढो पनि भाग्य नभएको भनेको यस्तै हो । जिम्दो हुन्जेल आटोको ठेला खान नदिने छोराहरूले पो हात पारे बुढाको पौरख । कम्ति हो र ? युद्धबन्दीको मात्र तेह« लाख रे ! अरू त कति हो कति ?”
“भो हुन्देऊ ठुली, त्यस्ताको के कुरा गर्ने । ती दुखी बुढाको धनपैसा खानु र सिनो खानु एउटै हो ।”
“हेला गरेको फेला पर्छ भनेको यही त हो ।”
खोलाको छेउ च्वाँडीमा (जरुवा) पानी भर्न भेला भएका पर्धेनीहरू दुईचार दिनसम्म यसरी नै खिसी गरे । केही दिनमा सबैले उनलाई बिर्सिए पनि । तर घैडाँडे मामा मेरो मनबाट कहिल्यै हराउन सकेनन् ।