काठमाडौं । सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानुसहित तीन जना ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सई कानुसहित प्रहरी जवान रामईश्वर मण्डल र स्थानीय व्यापारी जयनारायण यादवलाई घुस रकमसहित पक्राउ गरेको हो । प्रहरी सई कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सिकन्दर प्रसाद कानुले सेवाग्राहीबाट रु. ५० हजार घुस÷रिसवत वापतको रकम लिई उक्त रकम सोही कार्यालयमा कार्यरत प्रहरी जवान रामईश्वर मण्डललाई दिई स्थानीय व्यापारी जयनारायण यादवलाई राख्न दिएका थिए ।
उनीहरु तीनै जनालाई तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १, बेल्ही सप्तरीबाट उक्त घुस रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।