काठमाडौं । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो।
कोरोनाका कारण केही दिन यता बाँकेका अस्पतालमा दैनिकजसो बिरामीको मृत्यु हुन थालेको छ । बाहिरी जिल्लाबाट उपचार गराउन बाँकेमा आउँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
यता, कोरोना भाइरसको संक्रमणबाट आज झापामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एकरएकजना पुरुष रहेका छन् ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । कमल गाउँपालिका–५ मंगलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ । त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति घरैमा मृत्यु भएको छ ।
यता, सुर्खेतमा ३२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा सुर्खेतको भेरीगंगा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।