काठमाडौँ । पर्सामा दुई गुटबिचको भिडन्तमा मारिएका नेकपा नेता मुकेश चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्तासहित १२ जना विरुद्ध जाहेरी दर्ता गरिएको छ । पर्सा प्रहरीले एक हप्तापछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो ।
सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको छ । गुप्ता पूर्व संविधान सभा सदस्य हुन् । उनी केपी ओली निकट नेता मानिन्छन् ।
प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्व सांसद गुप्तालाई प्रहरीले घटना लगत्तै पक्राउ गरी बिहिबार राति नै ‘माथिको आदेश’ मा छाडेको थियो ।नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मुख्य योजनाकार गुप्ता नै भएको आरोप लगाइरहेका छन् ।
यस्तै झड्पमा सामान्य घाइते भई नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाटै फरार भएका थिए । उनीहरूमाथि पनि चौरसियाको हत्याको आरोप छ ।
नेकपाको विन्दवासिनी गाउँपालिकाको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी गम्भीर घाइते भएका जिल्ला सदस्य तथा गाउँ कमिटी सचिव चौरसियाको गएको बिहिबार उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको एक सातापछि वकिल कार्यालयमा मुद्दा दर्ता भएको हो ।
मुद्दा दर्ता भएपछि चौरसियाको पोस्टमार्टम पनि हुने भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको चौरसियाको शवको भोलि (शुक्रबार) बिहान पोस्टमार्टम हुने र आफ्नै गाउँमा अन्त्येष्टि गरिने जनाइएको छ ।
मुकेश हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पूर्व सांसद गुप्तालगायतका व्यक्ति विरुद्ध किटानी जाहेरीको माग गर्दै प्रचण्ड–नेपाल पक्षले एक हप्तादेखि पर्सामा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।
बुधबार मात्रै नेकपा स्थायी कमिटी सदस्य मातृका यादवसहित ३७ जना नेताहरूले चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरी विज्ञप्ति प्रकाशित गरेका थिए । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पनि विज्ञप्ति जारी गरेर सरकारसँग दोषीमाथि कारवाहीको माग गरेका छन् ।

