रवि पौडेल
Advertisement
पेसा छैन बाबाको
पैसा छैन साथमा
रासन चामल केही छैन
के खाने हो घरमा ?
दसा बन्यो दसैँ ।
पोहर साल आमालाई
निकै ज्वरो आयो
यो साल पनि हजुरबालाई
कोरोनाले गाल्यो
दसा बन्यो दसैँ ।
थोरै भा’को खेतीपाती
सलह आई खायो
दुइटा सुर्का धान फल्थे
पहिराले लग्यो
दसा बन्यो दसैँ ।
घाम छिर्ने झुपडी पनि
हुरी आई लग्यो
भैँसी पाल्ने गोठ स्याउले
पहिरोले पुर्यो
दसा बन्यो दसैँ ।
एउटा भा’को भैँसी पनि
चट्याङले हान्यो
गरिबको सपनालाई
चकनाचुर पार्यो
दसा बन्यो दसैँ ।
एउटा दाजु खाडीमै छन्
कसलाई टिका लगाउने ?
बहिनी पनि रुँदै भन्छे
भाग्य कहिले आउने
दसा बन्यो दसैँ ।
सरकारले डङ्का पिट्यो
समृद्धि आको
झुपडीमा के हालत छ ?
न गा’को, न देखेको !
दसा बन्यो दसैँ ।
गरिबलाई चाड पनि
कहिल्यै आ’ झैँ भएन
गरिबको पिरमर्का
बुझ्ने सरकार आएन
दसा बन्यो दसैँ ।