धनगढी । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा संलग्नता पुष्टि भएको भन्दै धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको हो ।
उनीहरुलाई प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको थियो । प्रारम्भमा १३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिए पनि ७ जनाको मात्र संलग्नता पुष्टि भएको हो । उनीहरुले असई विकले मटर तस्करीमा अवरोध गर्न खोजेपछि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।
शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको मंगलबार सो स्थान नजिकै भेटिएको थियो ।