काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ९३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा गत २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।
पछिल्लो २४ घण्टामा थप १३ हजार ८६१ पिसिआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको सङ्ख्या १३ लाख १४ हजार ७७९ हजार पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार १०८ कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या ९६ हजार ६०९ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ हजार ७७५ रहेको छ । त्यस्तै संस्थागत आइसोलेसनमा रहनेको सङ्ख्या १३ हजार ५५९ रहेको छ ।
काठमाडौँ उपत्यकामा थप १७ सय २ जनामा संक्रमण पुष्टि
यस्तै, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७०२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रवक्ता डा गौतमले उपत्यकाका तीन जिल्लामा गत २४ घण्टामा थप १ हजार ७०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ४३१ , भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा कोरोना पुष्टि भएको हो ।
सोमबार उपत्यकामा २ हजार ३८८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्।