सागर रिजाल, प्युठान ।
राष्ट्रिय दलित पत्रकार सङ्घ प्युठानको भेला सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष पूर्व सासंद विनोदको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।
भेलाले लोकेन्द्र सुनारलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ । शनिबार आयुष्मा होटल जुम्रीमा भएको उक्त भेलाले १३ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कमल विक, सचिवमा बोमबहादुर परियार, कोषाध्यक्षमा बिन्दु परियार र सहसचिवमा रबिन विक चयन हुनुभएको छ । त्यस्तै, सदस्यमा कुलचन्द्र विक, सुरेन्द्र नेपाली, सीता विक, ज्योति विक, गनबहादुर विक पेस्तोल, प्रेम विक, केन्द्रप्रकाश पिबीलाई चयन गरेको र एक सदस्य जिल्ला समितिले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष लोकेन्द्र सुनारले जानकारी दिनुभयो ।
भेलाले भुवनसिंहको संयोजकत्वमा सुनिल सापकोटा, शमशेर नेपाली, रामबहादुर विकलाई सल्लाहकारमा मनोनित गरेको छ ।
भेलापटि नवनिर्वाचित अध्यक्ष सुनारले प्युठानका दिवङ्गत सूर्यबहादुर विकको दलित आन्दोलन तथा पत्रकारितामा पु¥याएको योगदानलाई कदर गदै लुम्बिनी प्रदेशमा जातीय विभेद र दलितमुक्तिका लागि कलम चलाउने जोकोहीलाई पनी पुरस्कृत गर्ने गरी जिल्लामा दुई लाखबराबरको अक्षयकोष निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेलालाई प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, पत्रकार महासङ्घ प्युठानका अध्यक्ष महावीर राना, संयुक्त राजनैतिक दलित सङ्घर्ष समिति प्युठानका संयोजक गोपाल विकले सम्बोधन गर्नुभएको थियो ।
भेलामा राष्ट्रिय दलित पत्रकार सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष चिन्ता परियार, प्रदेशका सल्लाहकार सञ्जीव गहतराज, दलित महिला सङ्घ प्युठानका जिल्लाध्यक्ष लक्ष्मी परियार, एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज प्युठानका महासचिव प्रवीण विक, सिलाइ–कटाइ व्यवसायी सङ्घ प्युठानका अध्यक्ष खुमबहादुर परियारलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता लोकेन्द्र सुनार, स्वागत मन्तव्य प्रेम विक र सञ्चालन कमल विकको रहेको थियो ।