रवि पौडेल
सुन फल्ने माटो मिति विदेशीलाई दिन्छौ
शरण परी ऋण मागेर आफ्नो पेट भर्छौ ।
प्रभुको आशिर्वाद तिम्लाई फलिफाप
नागरिकलाई ऋण बोकाएर गर्छौ किन पाप ?
नदीनाला, कलकारखाना प्रभुकै हातमा
रातोरात मिल्छौ तिमी उसैको साथमा ।
हाम्रो जमिन फिर्ता ल्याउने कुरा उठाउँछौ
सिधासाथा जनतालाई भुइँमा सुताउँछौ ।
पैसा लिन्छौ नागरिकता सस्तोमा दिन्छौ
मौका परे धर्तीमाता लिलामै पो गर्छौ ।
पूर्व खायौ, पश्चिम खायौ कालापानी छाड्यौ
प्रभुको भर पर्दा नराम्ररी हार्यौ ।
न त कानुन बोल्छ यहाँ, न त विदेशनीति
पटक–पटक सरकारमा गई बिगार्यौ नि थिति ।
भागबन्डा अंश लाउँछौ खान्छौ मिलिजुली
जनतालाई गाउँमा छैन सिटामोल बिजुली ।
कुर्सीमा लुछाचुँडी टेबल पनि फोर्यौ
गरिबको जीवन हेर तहसनहस पार्यौ ।
गरिब देशका सिधा जनता लोभैलोभमा पार्यौ
चुनावको मुखैमा मासुरक्सी बाँड्यौ ।
कति बिक्छौ कार्यकर्ता अब नेता चिन
देश बेच्ने बेइमानी लाई अब त चिन ।

