काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित परिवारसँग कुरा गर्न खोज्दा पत्रकारहरुमाथि हातपात भएको छ ।
नेपाल पत्रकार महासंघका अनुसार आयोजनाबाट विस्थापित स्थानीयको बारेमा समाचार संकलनका लागि पुगेका तीन जना पत्रकारमाथि एक अराजक समुहले आक्रमण गरेको हो ।
भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी सिल्डुङस्थित निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित भएका स्थानीयसँग कुराकानी गरिरहेको अवस्थामा सो समुहले गोरखापत्रका सम्वाददाता चित्र मिजार, कान्तिपुर दैनिकका सम्वाददाता अनिश तिवारी र एपीवान टीभीका पत्रकार निरोज चौलागाईलाई २०७७ असोज २७ गते दुर्व्यवहार र हातपात गर्दै पत्रकारको सवारी साधानमा समेत तोडफोडको प्रयास गरेका महासंघले जनाएको छ ।
बिहीबार विज्ञप्ति प्रकाशित गर्दै महासघले घटनाका दोषीको पहिचान गरी उनीहरुमाथि कारबाही गर्न माग गरेको छ । ‘नागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि गरिएको यो हर्कतले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारमाथिसमेत आघात पुगेको महासंघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।