काठमाडौं । कोरोना संक्रमण फैलने जोखिम बढेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ। मंगलबार सूचना प्रकाशित गरी प्रशासनले अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हाल प्रवाह भइरहेका सेवाहरु तपशिल बमोजिम हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।’
प्रशासनले शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवामात्रै सञ्चालनमा आउने जनाएको छ । बाँकी सबै काम तत्कालका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

