धनप्रसाद पुन ‘दीपशिखा’ ।।
—१—
गाउँभन्दा ज्यादै स्वार्थी हुँदा रहेछन् सहरहरू
जिन्दगीमा पूरा नहुने रहेछ मान्छेका रहरहरू
यो दुनियाँमा आफ्नो र पराइ छुट्याउन गाह्रो
आफ्नैले छकाइ पिलाउन खोज्छन् जहरहरू ।
—२—
त्रासैत्रासमा बाँच्नुपर्ने के दिन आयो
हेर्दाहेर्दै लाखौँलाख मान्छेलाई खायो
कहिले हट्ला आकाशको कालो मेघ
मान्छेदेखि मान्छे डराउनुपर्ने बनायो ।
—३—
ए दुखीहरू हो सरकारसँग लडाइँ गरेर के पायौ ?
ज्यान हत्केलामा राखी अघि अघि सरेर के पायौ ?
हिजोका नेताहरू आज करोडौँको मालिक बने
भन सहिदहरू हो आखिर सित्तैमा मरेर के पायौँ ?
—४—
यो महङ्गीमा घर चलाउन सजिलो छैन
काम नगरी सुन फलाउन सजिलो छैन
हिड्ने बाटोभरि षड्यन्त्रको बिउ रोप
आँधी आए पनि ढलाउन सजिलो छैन ।
—५—
निस्पट्ट रातको अन्धकार हटाउन दियो चाहिन्छ
खुट्टामा बिझेको काँडा निकाल्न सियो चाहिन्छ
विकास भएन भनी चिच्याएर मात्र केही हुँदै हुन्न
मुलुकलाई समृद्ध बनाउन बलियो मियो चाहिन्छ ।