काठमाडौँ । रौतहटका किसानहरूले श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन संसदीय समितिहरूसँग आग्रह गरेका छन् । दसैँ आउनै लाग्दा आफ्नो उत्पादनको मूल्य नपाएको भन्दै उखु किसानहरूले भुक्तानी दिलाइदिन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरूले श्रीराम सुगर मिल्सबाट आफूहरूले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । किसानहरूले समिति सभापति विमलप्रसाद श्रीवास्तवलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।
श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाको लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । त्यससँगै आफूहरूले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफूहरू मारमा परेको उखु उत्पादक सङ्घका सचिव सफिन्द्रप्रसाद यादवले बताउनुभयो । उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दसैँअघि नै पाउने व्यवस्था मिलाइदिन पनि किसानहरूले समितिसमक्ष माग गरेका छन् ।
त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलबभत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपियाँ नपाएको भन्दै दसैँअगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् ।
आफ्ना मागहरूको सम्बोधन गराउन मन्त्रालय र समितिले निर्देशनात्मक आदेश दिनेमा आफूहरू आशावादी रहेको पनि किसानहरूको भनाई छ । चिनी मिल सञ्चालकसँग भुक्तानी माग्दा जग्गा विक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएकाले आफूहरू अन्योलमा परेको गुनासो किसानहरूले आर्थिक वर्ष २०७१\७२को १२ करोड रुपियाँ, आर्थिक वर्ष २०७५/७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । उद्योग बन्द हुँदा त्यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाएका हजारौँ व्यक्ति समस्यामा परेकाले हजारौँ घरपरिवारको आयस्रोत नै बन्द भएकाले उद्योगलाई फेरि सूचारु गर्ने वातावरण मिलाइदिनसमेत माग गरेका छन् ।
रौतहटमा करिब १८ हजार किसानले उखु खेती गर्दै आएको तर उखु मिल नै बन्द भएपछि सबै किसानको आम्दानी बन्द हुँदा हजारौं घरपरिवारको आयस्रोत बन्द भएको किसानहरुको भनाइ छ ।





