रवि पौडेल ।।
आज निकै पानी परिरहेको छ । व्यस्त सडकमा मोटरसाइकल, कार, बस र लरीका ट्यार्रटुर्र आवाज र मेलाजस्तै ओहोरदोहोर भिड भने देख्नुपरेको छैन । त्यसमाथि गर्मीले सडकमा उड्ने धुलो पनि आज देख्नुपरेन । सडकका खाल्डाखुल्डीमा आज कोही लड्दैन होला ? किनकि साइकलमा आउने मानिसहरू आज आएका छैनन् । एकाध कार, बस र लरीहरू मात्र कुदिरहेका छन् ।
जे होस्, गर्मीमा भन्दा झरीमा रोडको वातावरण अलि शान्त हुँदो रहेछ । म सडकपेटीमा बसेर यी दृश्य हेर्न लागेको करिब सात वर्ष भइसकेको छ ।
ओहो ! मानिसको भिडभाडमा त कसैले मलाई पैसा, खाना, बिस्कुट दिएर जान्थे । आज त खानाको समस्या पर्ने भो ! पोको पारेर राखेको त्यो बोरा पनि भिजिसकेको थियो । सबै थोत्रा कपडा र बिस्कुट पनि भिजेको थियो । त्यही भिजेको बिस्कुट झिकेर बालकले मजाले मिठासपूर्वक खान थाल्यो ।
बिचरा ! आमा को हो र आफ्नो बाबु को हो भन्नेसम्म पनि थाहा थिएन । कति रुन्थ्यो, कति कराउँदै हिड्थ्यो हातमा कटौरा समातेर भिडभाडमा । सडकपेटीमा पैसा माग्दै हिँड्ने । कसैले दिन्छन्; कसैले दिँदैनन्; कसैले गाली गर्दछन् । कसैले हान्छन्, घुच्चाउँछन् । बिचरा बालक ! धुलोमैलो झुत्रे कपडा लगाएर दिनभर सडक, चोक र ट्राफिक भिडभाडमा हिँड्दै आफ्नो चारो सङ्कलन गर्दथ्यो ।
आज पानी परेकाले मानिस पनि थोरै र आफू निथु्रक्क भिजेको छ । माग्न कहाँ जाने ? कसले दिन्छ ? दुबै भिजेका बोराभित्रका बिस्कुट निकालेर खाँदै यताउति हेर्छ । कोही पनि ऊ भएको बाटो आउँदैनन् ।
आज सडकपेटी खाली छ । एकाध गाडी मात्र सडकमा गुडिरहेका छन्; किनकि आज ठुलो पानी परेको छ ।
अहिले ऊ थोरै सोच्न सक्ने भएको छ । मेरा बाबुआमा कहाँ होलान् ? को होलान् ? घर होला कि नहोला ? आदि मनमा कुरा खेलाउँछ ।
तर के गर्ने उसको विवशता थियो । उसका आमाबाबु पनि यस्तै सडकमा माग्दै हिड्थे । थुलो खान्थे, सड्कमै सुत्थे । उनीहरूको कुनै घर थिएन । जग्गाजमिन थिएन । यतिसम्म कि देशको नागरिक भएर पनि नागरिकता प्रमाणपत्र थिएन । डुल्दै पैसा माग्ने क्रममा रोड क्रस गर्दा श्रीमान बितेपछि उसकी आमाले आफ्नो छोरालाई पैसा माग्न पठाएर छोडेर गएकी थिइन् ।
उनको पनि बाध्यता थियो । कमाइ थिएन । माग्न सक्ने र खाना ख्वाउने उनको श्रीमान सडक दुर्घटनामा बितिसकेपछि नगर निगमको एम्बुलेन्समा प्रहरीको साथ लगेर मसानघाटमा जलाएको उनले देखेकी थिइन् । उनी कमजोर दिमाग कि भएको हुनाले पैसा माग्ने र बच्चा हुर्काउने काम गर्नलाई मुस्किल थियो । सानो दुधे बालक छँदा पनि बाबुले नै हेरचाह र खाना जुटाएका थिए ।
ओहो ! दिउँसो पनि भइसक्यो । सबैले खाना खाँदै होलान्, मैले आज के खाने होला ? बालकलाई खाना खाने पिरले सताएको थियो ।
यत्तिकैमा एक जना मानिस छाता ओढेर आइरहेको देख्छ । ऊ उसैतिर आइरहेको देखेर राहतको सास फेर्छ । नजिक, अझै नजिक आउन्जेल हेरिरहन्छ; तर त्यो व्यक्तिले न त्यो बालकलाई हेर्छ, न सोध्छ । ऊ उल्टो दिशामा गइरहेको पनि हेरिरहन्छ, जसरी आफूतिर आउँदा हेरेको थियो । ऊ निरास हुन्छ । माग्ने पनि उसको त्यही एरिया थियो । बस्ने पनि त्यहीँ इँटाको चाङमुनि । रुखको बोटमुनि सुतेर रात गुजाथ्र्याे ऊ ।
बाटोमा अब को आउला र देला भनेर कुरिरहेको थियो । सडकमा पानी भरिँदै थियो । झ्याम झ्याम वर्षात्, चट्याङको आवाज । निकै कठिन र दुखदायी जीवन थियो, त्यसैमा पनि ऊ बालकै थियो ।
आँखा दुखे; तर बाटोमा पैदल कोही आउँदैन । उसले आज दिनभरि भोकै बस्नुपर्ने आँकलन गर्छ । निरास हुन्छ ऊ । दुःख मान्छ, आमा र बाबु सम्झन्छ । दुःख पाएको, धुलो खाएको, खाल्डामा खसेको, कसैले थप्पड हानेको र माग्दा घचेटेको सम्झदै थकित हुन्छ र हैरान हुन्छ ।
जाओस् त कहाँ ? मागोस् त कहाँ ? अरू मगन्तेले हेप्छन् । बोराको सिरानी लागेर यसो पल्टिन्छ, भोकै पेट । यत्तिकैमा एक जना मानिस आइपुग्छ ।
‘केटा, आज खाना खाइस ?’
‘खा’छैन दादा ।’
‘किन ? कसैले दिएन ?’
‘कोही रोडमा आएकै छैन, कोसँग माग्ने ?’
निन्न्याउरो स्वरमा आफ्नो कुरा राख्छ ।
ऊ त्यही मानिस थियो, जसले कहिलेकाहीँ उसले बिचरा बालक भनी खाना दिने गरेको थियो ।
आज अबेर उसले रोडको बालकलाई सम्झियो । आज के खायो होला भन्दै छिटोछिटो ऊ त्यहाँ आएको थियो ।
‘ल खा खाना’ भन्दै दालभात, तरकारी र अचार दिएर गयो ।
उसले आधा खायो र आधा बेलुका खाने भनी भिजेको भोरामा राख्यो ।
यस्ता दुईचार जना सहयोगी मानिस आउँथे । ती दया भएका मानिस थिए । उनीहरू आउँदा ऊ कहिलेकाहीँ खुसी पनि देखिन्थ्यो ।
सडकपेटीमा एउटा अबोध बालक । दिन कहिले ढुङगाको पर्खालमुनि रात कटाउनुपर्दथ्यो । रात बिताउन निकै कठिन थियो ।
एक दिन दुई सय रुपैयाँ बनाएको थियो । अर्काे एक जना मगन्तेले ऊ निदाएको बेलामा चोरेर गएको थियो । ब्युँझेर ऊ पानी किन्न गयो ।
ब पसलमा पुगेर पैसा झिक्न खोज्दछ, उसले पाउँदैन । पूरै बोरा टक्टकाउँछ । पैसा छैन । ऊ रुन्छ, कराउँछ । तर के गर्ने ?
पसलेले धेरै पटक पानी दिएको थियो । यस पटक उसले पनि पानी दिएन ।
ओठमुख सुकेका थिए, खुट्टा गलिसकेका थिए । अझै पानी परिरहेको थियो । दशबिन्ती गरेर पानी माग्यो, तर कसैले दिएनन् । रात परिसक्यो, दैनिक खाना दिने मानिस पनि आएनन् । आउन् पनि कसरी ? झरी छ । जाडो छ । बाहिर निस्कन मुस्किल छ; तर त्यो बालक कसरी जाडोमा दिनरात बिताइरहेको होला ? भन्न कठिन पर्छ ।
यत्तिकैमा ऊ आफ्नो सडकपेटी फर्किन्छ । बिहान होटेल पसलेले दिएको थोरै भातदाल बचेको खान्छ । अनि, सडकछेउमा इँटाचाङको आडमा सुत्छ । भुसुक्कै निदाउँछ ।
न उसलाई कसैको डर थियो, न कसैको काख नै । फेरि पनि जीवन कसरी बित्छ, बितेकै छ । ती तिनै सडकका मानिसलाई मात्र थाहा छ ।