काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) को आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको विशेष आतिथ्यतामा २०७७ असोज २३ गते भर्चुअल विधिबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महामन्त्री मोहनविक्रम सिंहले पार्टी–सङ्गठन, अनुशासन र किसान आन्दोलनलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा उहाँले आठौँ महाधिवेशनले सही राजनीतिक लाइन निश्चित गरिसकेकाले अबको कार्यभार सुदृढ सङ्गठन निर्माण गर्नु रहेको बताउनुभयो । उहाँले त्यसका लागि पार्टी अनुशासनमा अत्यधिक जोड दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । सो अवसरमा उहाँले किसान सङ्गठनलाई पनि देशव्यापी रूपमा विस्तार गर्दै सुदृढ र अनुशासित बनाउनुपर्ने पनि बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समसामयिक राजनीतिक परिस्थितिको बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले सरकारले साम्राज्यवादीहरूको हितअनुसार नेपालको कृषिनीतिलाई ढाल्दै गइरहेको बताउनुभयो । सरकारले कृषिक्षेत्रप्रति सही नीति नअपनाएकै कारण नेपाली किसानहरू झन्पछि झन् विपन्न हुँदै गइरहेको बताउनुभयो । उहाँले किसानहरूलाई एकजुट भएर सरकारको गलत नीतिको विरुद्ध एकजुट हुन आग्रह गर्नुभयो ।
अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल नेपाल सरकारको कृषिनीतिबारे प्रशिक्षण दिनुभएको थियो । सरकारको कृषिनीतिमा तमाम कमजोरीहरू रहेको औल्याउनुभयो ।
किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा देशैभरिका जिल्लाबाट किसान प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।