काठमाडौं । निर्माणाधिन धरहराको निर्माण अवधि नौ महिना थपिएको छ । कोभिड १९को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको छ ।
रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नुपरेको बताउनुभयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख) भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो ।
अहिलेसम्म धरहराको १६ तल्ला ढलान भइसकेको जानकारी पनि श्रेष्ठले दिनुभयो । त्यसबाहेक धरहराको अन्डरग्राउण्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको पनि उहाँले बताउनुभयो । जसमा ४ सय वटा सानो गाडि र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ ।
त्यस्तै मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले धेरै काम बाँकी रहेको उहाँले बताउनुभयो । कोभिड १९ का कारण कामको रफ्तारमा असर पर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको पनि उहाँको भनाई छ ।
अहिले थपिएको समयमा पनि पूर्ण रुपमा काम सम्पन्न गर्न चुनौति रहेको श्रेष्ठको भनाई छ । कम्पनीले अहिले २ सय ५० जना कामदारहरु मार्फत कामलाई तिब्रता दिईएको बताएको छ।
२२ तला रहेको धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२।२ रोपनी रहेको छ ।