खगेन्द्रा बिष्ट ।।
थकानले भरिएको लामो सुस्केरा
नमिठो हैरानी
‘अब सक्दिनँ’ भन्दै बाले आँसु बगाएको
हामीलाई टुहुरो पारेर प्राण त्यागेको
हे मेरो दाजै !
म बिर्सूं कसरी ?
म भुलूँ कसरी ?
किरिया नउम्कँदै
तुसारे चन्द्रे काकाले
तेरा बाउले लिएको ऋण कसले तिर्छ ?
भन्दै लाठी तेर्साउदा
तिमीले
काकासँग बिन्ती बिसाएर
बाउको ऋण चुक्ता गर्ने वचन दिँदै
गरिबीको राप र तापले
परदेशतिर टाप कस्दा
आमा र मैले हातको इसाराले नजान हारगुहार गरेको
हे मेरो दाजै !
म बिर्सूं कसरी ?
म भुलूँ कसरी ?
आउलान् दाजु भनेर बाटो हेर्दाहेर्दै वर्षौं बित्यो
कसरी तिमी बेखबर भयौ ?
तिमीलाई कहाँ भेटूँ र कहाँ देखूँ ?
छट्पटीले सास निचोरिएको
हे मेरो दाजै ?
म बिर्सू कसरी ?
म भुलूँ कसरी ?
रुखमाथि काग कराइरहँदा
मेरो दाइको शुभ समाचार हो भन्दै
मनमा छाएको छुट्टै खुशीको रौनक
हे मेरो दाजै !
म बिर्सूं कसरी ?
म भुलूँ कसरी ?
वर्षात्को भेल उर्लँदा
मेरो दाइलाई पो बाढीपहिरोले बगाइहाल्यो कि !
भनेर तर्सो लागेको
पारि डाडामा कण्ठ फुकाई गाउने
ठुले, जुठे, बले र श्यामेलाई
आफ्नै दाइ सम्झी
एक्कासी अँगाल्दा
दुर्व्यवहार भोगेको
हे मेरो दाजै !
म बिर्सूं कसरी ?
म भुलूँ कसरी ?
दाइ
तिमीले भनेका थियौ
ुबैनी, म नभएर के भो त !
मजस्ता हजारौँ दाइ तिमीसँगै हुने छन्
त, तिमीजस्ता हजारौँ दाइ बनाउन खोज्दा
तिनीहरूले ममाथि गाडेका गिद्धे नजर
कुदृष्टिले भरिएको फोहोरी हर्कत्
हे मेरो दाजै !
म बिर्सूं कसरी ?
म भुलूँ कसरी ?
तिमी फर्केनौ
चन्द्रे काकाले हाम्रो अवस्था बुझेनन्
उस जमानाको एक सुको ऋणको ब्याज बढेर
घरबारी बराबरको हुन पुगिसके छ
भएको त्यहीँ एउटा घरमा पनि
निर्दयी काकाको आँखा लाग्यो
हे मेरो दाजै !
फर्केर आइदेऊ सुनाउला तिम्लाई
धेरै छन् व्यथा मनमा
गरिबीको खाडलभित्र
अन्याय र अत्याचारसँग लडिबुडी गर्दाको कथा
छातीमा बज्रेको बज्रपातले खलबलिएको कथा
जहाँ छौ, फर्किदेऊ
दुई छाक जसरीतसरी खाम्ला
चौरासी व्यञ्जन चाहिएन
साग र सिस्नो खोजेर खाम्ला
सबै जनता जुटाएर,
मुक्तिको बाटो खनौँला
निष्पक्ष विचारको आधार बनौँला
भेदभावरहित समाजको नागरिक भनौँला
हामी एकजुट भै लाग्यौँ भनेँ
कसो नसकौँला र अध्यारो चिर्न ?
उज्यालोको प्रतिक्षा गर्दै विजयको दिन गनौँला ।

