एक दिन मित्र दलबहादुरले भनेका थिए–
‘त्यो झ्याल्टुङको उकालोमाथि
चिसो बतासको रूपमा
स्वर्गदूत आएर साथी
तिम्रो कानमा गाउने छ
स्वर्ग हो यो पृथ्वीको
स्वर्ग हो यो पृथ्वीको …’
–कवि अजम्बरध्वज खाती

२०७७ भदौ २७ गतेको बिहान उनै कविताका पात्र दलबहादुर गुरुङ र म साथी यम परियारको इरेक्सामा चढेर नुवाकोट प्रवेशद्वार पुगेका थियौँ । पुरानो बुटवलबाट उकालो लाग्यौँ । बिहान ६ बजे घरबाट निस्केका हामी साढे छ बजे उकालो चढ्न सुरु गरेका थियौँ । दुई बोत्तल पानी र केही प्याक मुङको दालमोठ बाटोखर्च बोकेर नुवाकोटतिरको बाटो समातेका थियौँ । बाटामा केही थान गाउँले अग्निरस बोकेर बजार झर्दै थिए । कसैले तरकारीको भारी बोकेर ओरालो लागेका थिए । केही युवाहरू नुवाकोटमा बास बसेर जुठो थाल झोलामा बोकेर ओरालो लाग्दै थिए ।
लकडाउनले अलि अलि हिँड्ने बानी पनि बिस्तारिएछ । नुवाकोट पुग्न धौ धौ प¥यो । ९ बजे नुवाकोट पुगियो । त्यहाँ सुन्दर पार्क बनेको रहेछ । उजीरसिंह र मणिमुकुण्ड सेनको शालिक राखिएको रहेछ । केही होटेल बन्दै छन् । खानानास्ता खाने ठाउँ पनि राम्रै व्यवस्था हुन थालेको छ । यहाँ केबुलकार पुगेपछिको रमझमको कल्पना गर्दै लागियो ओखलढुङ्गातिर ।

ओखलढुङ्गामा एक घर मात्र रहेछ । त्यहाँ अमिलोका फल राम्ररी लागेका थिए । केही जमिन बाँझो थिए । त्यहाँ चिसो पानी पिएर हामी तीनहलेतिर लागियो ।
‘विभेद विरुद्धको कविता यात्रा ’मा कविता सुनाएको र रातभरि बाजातालमा नाचेको आँगनमा धेरै वर्षपछि पुगेँ । त्यो गाउँका सबैभन्दा जेठा शेरबहादुर विक थिए । उनी पनि बितेछन् । आगन सुनसान थियो । गाउँका धेरैजसोले बजारमा घर बनाइसकेका छन् । धेरै जग्गाबाहिरका मान्छेले किनेका पनि छन् । त्यहाँको खेतीले प्रशस्त खान पुग्ने भए पनि विद्यालय टाढा छ । त्यसैले पनि होला, गाउँलेलाई गाउँले रोक्न सकेन । कतै बच्चाबच्ची खेलेको देखिएन ।
एक सुनसान घरको बेलैटीको रुखमा बेलौती टिपेर खाँदै उकालो लागियो । चुरेको घना जङ्गल, डोरेटो बाटो र ठाडो उकालो हिँडेर माथि धुरीमा पुगियो ।

पहाडको चुलीमा अलिकति घुम्दा धेरै घुमिँदो रहेछ । त्यहाँबाट अलिकता तेस्रो लागेर ओरालो लागेको तीनहलेतिर नै लागियो कि जस्तो लाग्यो । धेरै अलमल भयो । हापुर पुगिने हो कि तीनहले नै पुगिने हो भन्ने अलमल भयो ।
भोक र प्यासले सताएको छ । फेरि उकालो लाग्नुपरे ज्यानमा हब्बा छैन ।
दल सरले धेरै ठाममा फोन लगाउनुभयो तर कसैको फोन उठेन । पहिरो गएर बाटो, बाटो होजस्तो नै थिएन । चुरेमा बाटो खन्ने तरिका पुगेन कि जस्तो लाग्यो । ‘जहाँ त पुगिएला’ भनेर ओरालैओरालो लागियो ।
धेरै नै तल झरेपछि एक जना बाख्रा चराउने मान्छे भेटियो । उनैलाई सोधेको बाटो त ठिकै आइएको रहेछ । ढुक्क भएर हामी हापुर पुगियो । टुँडिखेल नजिकै घडीवाला बाको घरमा पुगियो । आमैले भाँडा माझ्दै हुनुहुन्थ्यो । बालाई भेट्न खोजेका बारीतिर गएका रहेछन् ।
बसन्ती बहिनीको घरमा खाना पाकेको थियो । चिसो पानी, पहाडी गाभाको तिहुन, झेँक्रामा फलेको काँक्राको अचार, रसिला निबुवासहित दालभात, तरकारी असाध्यै मिठो भयो । खाएपछि भात लाग्यो ।

ज्यान सेलाएमा हिँड्न सकिन्न भनेर त्यहाँ धेरै बसेनौँ । माया दिदीलाई अघि लगाएर हरियाली गाउँतिर लाग्यौँ । मापुर फाँटको बाटो हरियाली पुगियो ।
लेखक चट्टानसित भेट भयो । पहेँलो पहेँलो भएको काँक्राका चिराले उकालोको थकान नै भुलायो । त्यहाँको चिसो पानी उस्तै मिठो । आज यतै बसौँ भन्दै हुनुहुन्थ्यो चट्टान सर । हामीले घरतरिको बाटो छोट्याउनु थियो । त्यसैले त्यहाँको गाउँको अवलोकन गरेर फर्कने निधो गरियो ।
चुरेमा विकास निर्माण गर्न कठिन छ । यहाँको चट्टान खुकुलो भएकाले यहाँका सडक तथा भवन छिटो बिग्रने समस्या हुन्छ । ओखलढुङ्गा र तीनहलेको बीचमा सम्मै ठाममा जमिन धसिएको थियो । बाटो पहिरोमा र पहिरो बाटोमा हुने अवस्था आएको थियो । हापुर पुग्ने मोटरबाटो फेरि त्यही ठाममा खनेर बाटो बनाए अर्को वर्ष त्यो ठाममा बाख्रा हिँड्न पनि नसक्ने अवस्था आउने खतरा छ ।
हरियाली गाउँ धेरै सित्तल रहेछ । त्यहाँका खेतमा धान र बारीमा कोदोले गाँज हालेका थिए । नामजस्तै त्यो ठाम हरियाली रहेछ । त्यहाँका मान्छे पनि साँच्चिकै हरिया स्वभावका रहेछन् । ‘साहित्यकारको समूह नै लिएर आउनुस्, हामी व्यवस्थापन गछौँ, कुनै कुराको चिन्ता गर्नुपर्दैन’’ भन्दै हुनुहुन्थ्यो लेखक चट्टान ।
सर्लक्क घुमेको हरियाली गाउँमा जसको घरबाट बोलाए पनि सबैको घरमा सुनिने रहेछ ।
मापुर फाँट असाध्यै राम्रो सिमसार उपत्यका रहेछ । त्यहाँ जम्मा एक घर मात्र रहेछ । पुगनपुग २५० रोपनी क्षेत्रफलमा फैलिएको छ । फाँटवरिपरि घना जङ्गल र पहाडले घेरिएको छ । पानीका मूल प्रशस्त छन् । झण्डै पानको पात आकारको फाँटमा धानखेती गरिएको छ । फाँट निकै सुन्दर र हेर्नलायक छ ।

सुन्दर मापुर फाँटमा धेरैले धेरै तरिकाले आँखा लगाएका छन् । धेरै खाले विकासका परिकल्पना गरेका छन् । साँच्चै त्यहाँ जाँदा त्यतिमाथि त्यति राम्रो फाँट होला भनेर कसैले कल्पना गर्दैन । त्यस्तो सुन्दर फाँटमा रहन, बस्न र घुम्न पाउनु तर सपनाबाहिरको कुरो हो ।
मापुर उपत्यका पुगेपछि त्यो ठामलाई कस्तो बनाउने भनेर जसले पनि एउटा न एउटा परिकल्पना गरिहाल्छ ।
मापुर फाँट गए पनि हामी मापुरगाउँ भने पुगेनौँ ।
हुन त हापुर, मापुर र हरियाली गाउँ पहिलो पटक जाने मान्छेले त्यहाँ त्यति राम्रो बस्ती छ भनेर सोच्नै सक्दैन । त्यस्तो घना जङ्गलमा एक्कासी गाउँ आउँछ । नुवाकोटबाट उता लाग्नेबित्तिकै केही ठाममा रिचार्ज सेन्टरका रूपमा पोखरी बनाइएका रहेछन् । त्यहाँका सामुदायिक वन समितिले जङ्गल जोगाउने काममा धेरै भूमिका खेलेका छन् ।

साँझसम्म घरै पुगौँला भन्ने ठानेका थियौँ । खुट्टा भोलिपर्सि पनि चाहिने हो भने आजलाई हिँडाइ पुग्यो भनेर हामी हापुर बस्ने निधो गर्यौं ।
साँझ बसन्ती बहिनीको हजुर बाले भाले उम्काए । थाकेका खुट्टाले भालेको पछि दगुर्न मानेका थिएनन् । जसोतसो भाले खेदियो । दल सर भाले छोप्न सफल हुनुभयो । मैले भालेलाई दुई वटा बनाएँ । बाजेले मरेको भालेलाई तातोपानीमा चोबेर भुत्ला खुइलाउनुभयो । अनि, मासु टुक्रा बनाउने काममा म नै लागेँ ।
दिउँसो सित्तल लागे पनि साँझ त जाडो भएजस्तो लाग्यो । अगेनाको छेउमा बसेर खाना खायौँ । अचेल म पाङ्ग्रा बचाऊँ अभियानमा लागेकाले अग्निरस धेरै ग्रहण नगर्ने बानी गरेको छु । तैपनि अलिकति त पितृ बुझाउन भए पनि लिनैपर्यो ।
खाना खाएर हामी घडीवाला बाको घर पुग्यौँ । घडीवाला बाको लिची, अम्बा, नासपती, कागती, केरा र अमिलोका रुखले घेरिएको तारामण्डल घर साँच्चै नौलो थियो । बा भने घरमा कहिल्यै बस्दा रहेनछन् । खाना खान र रात परेपछि सुत्न मात्र घरमा आउने रहेछन् ।
८६ वर्षको उमेरमा पनि उहाँ दिनभरि बगैँचा गोडमेल गरिरहँदा रहेछन् । वर्षमा लाख रुपियाँको त बाले लिची मात्रै बेच्दा रहेछन् । दुई घरी केरा बोकेर हापुरबाट नुवाकोटको बाटो हिँडेर बुटवल आउनेजाने गर्दा रहेछन् घडीवाला बा । ‘कतै जानुपर्दा बालाई गाडीमा चढाउन सारै मुस्किल हुन्छ । गाडीमा चढ्नै मान्नुहुन्न ।’ उहाँकी कान्छी पुत्री माया दिदीले भन्नुभयो ।

बिहानै फेरि बसन्ती बहिनीले पकाएको चियाबिस्कुट खाएर झ्याङ्ला झरियो ।
कमरेड चक्रब्यूहकोमा माछा मारियो । माछा पालेको पोखरीमा पानीको मूल भएकाले हो वा पहाडको हापले भेटेर हो, यहाँको माछा धेरै स्वादिलो छ ।
दोभानमा कोरोना सङ्क्रमितसित छोटो भेटघाट गरियो । ११ बजेतिर हामी कामरेड पे्रमजीको फलामे हात्तीमा बुटवल रवाना भयौँ ।
गाउँमा जन्मीहुर्केर पनि गाउँको बारेमा धेरै भन्न सक्दिनँ । गाडीमा गुड्दै गर्दा उही अजम्बर बुबाको कविता मनमा खेलिरह्यो–
हिँड जाऔँ र हेरौँ मात्रै
बाबु मरेर सधैँ किरिया बसेजस्तो यो सडक,
सधै बर्खी बारेजस्तो यो सहर
छि ! छि !
एउटा रङले सम्म छुन सकेको छैन यहाँ
त्यहाँ तिनी उम्लिएर र टोकिएर
कष्ट जीवन बाँच्नुपर्दैन
त्यहाँ तिमा आँखा रुझ्नुपर्दैन
फ्रिजमा सेलाएको बासी खानुपर्दैन
नमिलेको भाउ मान्नुपर्दैन
भाषा र बोलीबाट ठगिनुपर्दैन
जीवन एउटा कस्मेटिक्स त्यहाँ छैन
तैपनि
नओइलाएको जीवन बाँचेको यो देश
शान्त प्रकृतिको
कोमल छातीमा हुर्केको जीवन
ऊ पनि त्यस्तै कोमल छ
त्यस्तै एकान्त छ
त्यस्तै राम्री छ
उसले कसैको निम्ति गाएकी होइन
लगाएकी होइन
न कसैको प्रदर्शनी हो
न कसैसित प्रतिस्पर्धा
स्वयम्भू कला
आफैलाई हेर्न हो उसको शृङ्गार
आफ्नो रूप सजाएका हुन्छन्
गीत गाएका हुन्छन्
यसैले
कसैले सुने तर्सन्छन्
कसैले देखे खल्बलिन्छन्
लाजले पुछिन्छन्
बुझ्यौ ?
तिमीले यो गीत
बादलमा लुकेर सुन्नुपर्छ
तिमीले उसलाई
पहाडले छेकिएर हेर्नुपर्छ ।
