बसन्त खड्का, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटस्थित भुजुङ्गेका पहिरो पीडितहरुले सुरक्षित स्थानमा बस्ती सारिदिन आग्रह गरेका छन् । पहिरो तथा जमिन भासिएका कारण विस्थापित भएका पीडितहरूले अफूहरुलाई सुरक्षित बासको व्यवस्था मिलाई दिन सम्बन्धित निकायसँग माग गरेका हुन् ।

मंगलबार विस्थापित परिवारले सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाललाई भेटेर बस्ती स्थानान्तरण गरी सुरक्षित बासको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । सो ठाउँका १० घरपरिवार अहिले खाँचीकोटको चन्द्रप्रभा माविमा आश्रय लिएर बसेका छन् ।

भुजुङ्गेका करिव ६० घरपरिवार उच्च जोखिममा छन् । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, राजमो सनपा ७ का वार्ड अध्यक्ष दिलदार हुसेन, सचिव बसन्त खड्का, वडा न. ७ का वडाध्यक्ष पृतम थापा लगायतको पनि सहभागी सहभागिता रहेको थियो ।
यस्तै पीडितको तर्फबाट पुन बहादुर नेपाली, शान्ता नेपाली, रिना नेपाली लगायतको सहभागीता रहेको थियो । नगर प्रमुख भुसालले सबै निकायको सहयोगबाट सुरक्षित बासको व्यवस्था मिलाइने प्रतिवद्धता जनाउनुभएको थियो ।