काठमाडौं । नेपाली सेनाले दार्चुला सदरमुकाम खलंगासँग छाङरु र तिंकरलाई जोड्ने बाटो निर्माण गरेको छ । बाटो निर्माणसँगै नेपाली भूमिमै एक ठाउँबाट अर्को ठाउँमा जान पनि विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।

गत जेठ २६ गतेबाट नेपाली सेनाले निर्माण सुरु गरेको गोरेटो/घोडेटो बाटो करिब चार महिना भित्र सम्पन्न गरी आज स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।

आयोजना हस्तान्तरणको क्रममा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकार र नेपाली सेनालाई यस्तो कठिन अवस्थामा पनि जनताको माग अनुसार उत्कृष्ट कार्य गरेकोमा सराहना गर्दै धन्यवाद दिनु भयो ।

नेपाल सरकारबाट आ.ब.७६/७७ मा कुल १ करोड ८ लाख ३६ हजार निकाशा भई कुल ४५० मि. लामो र २ मि. चौडा बाटो बनाउने प्रारम्भिक लक्ष्य रहेको भएतापनि जमिनको बनावट र यर्थाथ आवश्यकताको कारण सम्पन्न गर्नुपर्ने लम्बाई ५५० मि. हुन पुगेको थियो ।

यस आयोजनामा कुल १५०० भन्दा बढि डीआरआईएलएल गरि होलहरु खोपिएको र करिब ८०० के.जी विष्फोटक पदार्थ प्रयोग भएको सेनाले जनाएको छ । नेपाली सेनाको तर्फबाट सेनानीको नेतृत्वमा कुल ६५ जना सैनिकहरुले निर्माणमा भाग लिएका थिए । त्यस क्रममा मृत्यु भएका नेपाली सेनाका जवान देवान सिंह धामीको परिवारलाई सेनाले १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

यो आयोजनाबाट अब नेपाल भित्र यात्रा गर्दा विदेशी भूमिको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । व्यास गाउँपालीका वडा नं.१ का १८४ घरधुरीका १२५० जना नेपालीजन प्रत्यक्ष लाभान्वित भएका छन् ।

नेपाली सेनाले निकट भविष्यमा नै निर्माण गर्न लागेको ८७ कि.मि. लामो महाकाली करिडोर (दार्चुला–तिङ्कर खण्ड) मा पर्ने साथै सो कार्यको लागि नेपाली सेनाबाट प्रमुख सेनानीको नेतृत्वमा विकास निर्माण कार्यदल गण तैनाथ नै भइसकेकोले हाललाई महाकाली नदीमा काठको पुल हालि आवागमन सहज पारिएको छ ।