काठमाडौं । उपत्यकामा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नगर्दा कोरोना भाइरसको संक्रमण बढेको पाइएको छ । जनस्वास्थ्यमा मापदण्डविना सभा, गोष्ठी र भीडभाड गरिएले संक्रमण बढेको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनम बाहिर निस्कँदा मास्क लगाउने, दुई मिटरको दूरी कायम राख्ने र पटक पटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्ने बताउनुभयो ।
आज मात्रै मुलुकभर दुई हजार ४४० संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ५३१ संक्रमित फेला परेका छन् । नेपाल भारत सीमामा मानिसको आवतजावतका कारणले पनि संक्रमण बढेको उहाँले बताउनुभयो ।
‘ खुला सीमा भएका कारण मानिस सीधै काठमाडौं आए । आएका मानिस पनि १४ दिनसम्म क्वारेन्टिनमा नबस्दा संक्रमण बढेको हो’, उहाँले भन्नुभयो, ‘हामीले बाहिरबाट आइसकेका मानिसलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्न भनेका थियौँ। त्यो पनि पालना गरिएन । आज संक्रमण बढ्यो भनेर चिन्ता गर्नुभन्दा संक्रमण नबढ्न के गर्न सकिन्छ भनेर सोच्नुपर्छ ।’
उहाँका अनुसार नेपालमा हाल आइसोलेशन २० हजार ७६५, सघन उपचार कक्ष दुई हजार ६०० र भेन्टिलेर ९०० छन् । अझै ११० भेन्टिलेटर आउने क्रममा छ ।(रासस)

