गणेश अशिकारी
पोखरा । गत केही लामो समयदेखि आन्दोलन गर्दै आइरहेका पृथ्वीनारायण क्याम्पस आंशिक प्राध्यापक सङ्घले असोज १९ गते क्याम्पस परिषद्भित्र क्याम्पसमा कार्यरत क्याम्पस प्रमुख, सहायक प्रमुख र अन्य अस्थायी प्राध्यापक र कर्मचारीलाई आफ्नो माग पूरा नहुँदासम्म मुख्य गेटबाट भित्र प्रवेश निषेध कार्यक्रम राखी विभिन्न प्लेकार्ड, ब्यानर झुण्डाएर प्रदर्शन गरेका छन् ।
विभिन्न चरणमा आन्दोलन गर्ने सन्दर्भमा पहिला पहिला–पहिला पनि झड्पसमेत हुन पुगेको थियो । क्याम्पस प्रशासन र आन्दोलनरत प्राध्यापकबिच वार्तासंवाद पनि हुँदै आइरहेका थिए । यसै क्रममा कहिले विद्यार्थी सङ्गठन, कहिले क्याम्पस व्यवस्थापनसँग, कहिले कास्कीका राजनीतिक दलसँग सयुक्त रूपमा बैठक पनि बस्दै आइरहेको थियो । तर पनि ठोस निकास निस्कन सकिरहेको थिएन ।
समान कामको समान ज्याला दिनुपर्ने, त्रिभुवन विश्वविद्यालयको बेथितिमा सुधार गर्नुपर्ने जस्ता माग राख्दै आइरहेका थिए । पृथ्वीनारायण क्याम्पसमा क्रियाशील विद्यार्थी सङ्गठन भने प्राध्यापकको आन्दोलनप्रति खासै समर्थन गरिरहेका छैनन्, बरु उनीहरूको आन्दोलनले विद्यार्थीले पढ्न पाउने अधिकारबाट बन्चित हुने अवस्था सिर्जना नगर्न क्याम्पस प्रशासन र आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।
खासगरी शैक्षिक क्षेत्रमा गरिने राजनीतिक भर्ती केन्द्र विकराल चुनौतीको रूपमा रहँदै आएको छ । पृथ्वीनारायण क्याम्पसमा देखा परेको समस्या पनि विभिन्न समयमा आफ्नो पार्टी, नातागोता, आसेपासेलाइ भागबन्डाको रूपमा अस्थायी नियुक्ति दिँदै जादा अहिले यो समस्या निम्तिन पुगेको हो ।