काठमाडौं । माघ महिनादेखि बन्द रहेका चीनतर्फका दुइटा नाका सञ्चालनमा आएका छन् । तातोपानी नाका र रसुवागढी नाका आजबाट सञ्चालनमा आएका हुन् ।
कोरोना संक्रमण बढ्न थालेपछि गत माघ १४ गतेदेखि नाका बन्द भएको थियो । तर बीचमा केहीदिन सञ्चालनमा आएपनि पहिरोका कारण पुनः रोकिएको थियो ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जालमा चीन र नेपालको संयुक्त प्रयासबाट नाका आजदेखि सञ्चालनमा आएको बताएकी छन् । नाकाको फोटोसहित उनले ट्वीट गरेकी छन्, ‘अबदेखि झ्याङमु (तातोपानी) र जिलङ (रसुवा) दुवै नाकाबाट नेपालमा दैनिक आवश्यक सामग्री आपूर्ति गर्न सहज हुनेछ। मेरा नेपाली साथीहरुलाई दशैँको शुभकामना।’
गत असोज १३ मा नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका सञ्चालनमा ल्याउनेबारे सहमति भएको थियो ।
यी दुवै नाकाबाट सोमबारदेखि सामान आयात सुचारू भएको छ । आजदेखि रेडिमेट गार्मेन्टलगायत सामग्री बोकेका कन्टेनरहरु आउन थालेका छन् ।
दुवै नाका सञ्चालनमा ल्याउन त्यहाँका कर्मचारीदेखि सामान लोड अनलोड गर्ने मजदुरको यसअघि नै पिसिआर परीक्षण गरिएको थियो । चाडवाडको मुखमा नाका सञ्चालनमा आएपछि सामान आयात गर्न सहज भएको छ ।