दिनेश रैदास, दाङ ।
राजपुर गाउँपालिका–७ गल्चुका बासिन्दाले वर्षौंदेखि खानेपानीको अभाव ब्यहोरिरहेका छन् । स्वच्छ पिउने पानीको अभावले ३८ घरधुरीका करिब २०० स्थानीय राप्ती नदीको धमिलो पानी कपडाले छानेर पिउन बाध्य छन् ।
राजपुर गाउँपालिकाको वडा नं ७ को कार्यालय रहेको सिक्टा गाउँदेखि झण्डै दुई किलोमिटर पश्चिममा रहेको गल्चु गाउँको वरिपरि जंगलले घेरेको छ भने राप्ती नदीको किनारमा सुपोको आकारमा फैलिएको छ । करिब एक सय बिघा जमिन ओगटेको यो गाउँको दक्षिण चुरे पहाड निकै भिरालो भएकाकारण आसपासमा पानीका मुहानहरु छैनन्।
गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारका जनप्रतिनिधीहरुलाई बारम्बार पिउने पानीको व्यवस्था मिलाई दिन अनुरोध गर्दा समेत कुनै सुनवाइ नभएको स्थानीय शसिराम घर्ति बताउनुहुन्छ । घर्तिका अनुसार यस गाउँमा २० देखि ३० लाखसम्मको बजेट व्यवस्था भए एउटा डिप बोरिङ गरेर ओभरहेड टंकी निर्माण गर्न सकिन्छ । अथवा गाउँको दक्षिण तर्फको उच्चो भागमा टंकी निर्माण गरी स्वच्छ पिउने पानीको व्यवस्था गर्न सकिन्छ ।
स्थानीयदेखि केन्द्रीय सरकारसम्म बारम्बार गुहार्दासमेत स्वच्छ खानेपानीको व्यवस्था नभएको स्थानीयको गुनासो छ । उनीहरु भन्छन्, ‘हाम्रो वर्षौंदेखिको समस्या समाधान गर्ने सर्तमा नेताहरुलाई भोट दिएर पठायौं तर जितेर गएपछि हाम्रो समस्याप्रति कसैले चासो राखेनन् ।’