दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ को नाकादेखि ७ को विभिन्न गाउँ र नाका क्षेत्र पुरै सञ्चारविहीन छ । अहिले सञ्चार र सामाजिक सञ्जालको युगमासमेत ठूलो संख्यामा नेपाली सञ्चारविहीन भएर बस्नु परेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले बताउनुभयो ।
आचार्यका अनुसार भारतसित सीमा जोडिएका क्षेत्रका स्थानीयले इन्डियन सिम प्रयोग गर्ने गर्दछन् । जसले नेपालमै फोन गर्दा ठूलो रकम खर्च हुने गरेको छ । त्यो क्षेत्रका नागरिकले भारतीय सरकारलाई राजस्व बुझाइरहेका छ्न् । त्यसले नेपाल सरकारलाई घाटा भएको र नेपाली नागरिक मर्कामा परेको नाकाबासी इन्द्रबहादुर पुनले बताउनु भयो ।
यसैगरी सुनपत्री, ऐरना, गोठुवा, ताली कुरुवा गल्छु, सिक्टा लगायतका धेरै ठाउँका नागरिक सञ्चारविहीन भएको रनबहादुर बुढा र तेजबहादुर बाठाले बताउनु भयो ।
स्कुलको समस्या
यता राजपुर गाउँपालिका–७ मा स्कुलको समस्या देखिएको छ । अहिले राजपुर गाउँपालिका वडा नम्बर ७ को गोठुवा, सुनपत्री, एरेना, ताली, कुरुवाबाट करिब एक सय भन्दा बढी विद्यार्थीहरु दुईदेखि तीन घण्टा हिँडेर स्कुल जानुपर्ने बाध्यता छ । साना–साना बालकालिकाहरु बिहानै खाना खाएर जंगल र खोलाको बाटो जंगली जनाबर र खोलाहरुको जोखिम मोल्दै स्कुल जान पर्ने बाध्यता छ ।
जंगलमा बाघ, भालु, बँदेल जस्ता जंगली जनावरले बलाबालिकाहरुलाई आक्रमण गर्छ कि भन्ने डरले बिहान स्कुल हिँडेदेखि साँझ नफर्कंदासम्म अभिभावकहरुको मन पोल्ने गरेको स्थानीय रनबहादुर बुढाले बताउनुभयो ।
‘विद्यार्थी स्कुल पुग्दा थकाइ लाग्छ । पढ्ने जागर लाग्दैन । निन्द्रा लाग्छ र पढाइ बिग्रन्छ । त्यसकारण यहिँको खयरभट्टिमा स्कुल बनाउने हो भने कम्तिमा तीन सय जति विद्यार्थी लाभान्वित हुन्छ्न’ बुढा भन्नुहुन्छ ।