काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरमा थप २ हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा १२ हजार ७८४ पिसिआर परीक्षण भएकोमा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार २१९ रहेको छ । त्यस्तै, देशभरमा संस्थागत आइसोलेसनमा रहनेको सङ्ख्या १० हजार ५२६ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३२९ जना कोरोना सङ्क्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या ६४ हजार ६८ पुगेको छ।
काठमाडौँ उपत्यकामा थपिए १५ सय ९९ सङ्क्रमित
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता प्रा.डा. गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ५९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
७ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ थप जनाको मृत्यु भएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५३५ पुगेको छ ।