काठमाठौं । अब सवारी साधन हराएमा वा चोरी भए निवेदन दिन ट्राफिक प्रहरी कार्यालय जान नपर्ने भएको छ । ट्राफिक प्रहरी महाशाखामा फेला परेका वा चोरी भएका सवारी साधनको अभिलेख व्यवस्थापन सफ्टवेयरको सुरुवात गरिएको छ ।
यसको लागि सवारी धनीले अब ट्राफिक प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ। वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाइन एप्लिकेसन भित्र रहेको लस्ट भेइकल एप्लिकेसनमा क्लिक गर्नुपर्ने जनाइएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेलले आइतबार प्रहरी अधिकृत र जवानहरुको लागि संयुक्त मेस भवन उद्घाटन सँगै नयाँ सफ्टवेयरको सुरुवात गर्नुभएको हो ।
त्यसक्रममा डीआईजी पोखरेलले ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने बताउनुभयो । पोखरेलले कुनै पनि कुरामा कमजोरी गर्न नहुने, व्यवहार र आचरणमा आँच आउने काम नगर्न पनि उहाँले निर्देशन दिनुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले आफ्नो समस्या लुकाएर भएपनि जनताको सेवामा २४ घण्टामा नै खटिएको बताउनुभयो । उहाँले कोभिड सुरु भएपछि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन, नागरिकलाई कोभिडबाट बचाउने र जोखिममा रहेर काम गर्ने अधिकृत र जवान एकजुट भएर अगाडि बढीरहेको बताउनुभयो ।
महाशाखामा उद्घाटन गरिएको संयुक्त मेस भवन १३ लाख ५१ हजार ८०९ रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।